प्रभावकारी बन्यो पढ्दै कमाउँदै कार्यक्रम

सुर्खेत । सुर्खेतको बराहाताल गाउँपालिका स्थित जनज्योति माध्यमिक विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हाल यो कार्यक्रमलाई सङ्घीय सरकारलेसमेत अपनत्व लिँदै देशभर ५० बढि विद्यालयमा लागू भएको छ, भने कार्यक्रम संचालनका लागि दुई सय ४० विद्यालयलाई अनुदान दिएको छ । मंगलबार वीरेन्द्रनगरमा सम्पन्न पढ्दै कमाउँदै कार्यक्रमको प्रदेश स्तरीय कार्यशाला गोष्ठिका सहभागीले कार्यक्रम प्रभावकारी बन्दै गएको ठहर गर्दै प्रदेशभरका सबै विद्यालयमा लागु गर्न आवश्यक रहेको बताए । हेल्भेटास नेपाल इन इलम परियाेजनाकाे सहयाेगमा गाेष्ठी सम्पन्न भयकाे हाे ।



गोष्ठिमा बोल्दै कर्णाली सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले पढ्दै कमाउँदै कार्यक्रम कर्णालीका सबै विद्यालयमा लागुगर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।
विद्यार्थीलाई पढाईसँगै व्यवसायमा पनि लाग्न अनुरोध गर्दै त्यसको बजारीकरण जिम्मा प्रदेश सरकारले लिने उनले विश्वास दिलाए । पढ्दै कमाउँदै कार्यक्रमबारे सम्बन्धित सरोकारवालासँग छलफल गरेर अघि बढ्ने मन्त्री शर्माको भनाइ छ ।

जनज्योति माध्यमिक विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरु पढाइसँगै कृषिमा पनि आबद्ध भएका छन् । कृषिमा आबद्ध विद्यार्थीले पढाइ खर्च पनि यसैबाट जुटाइरहेका हुन् ।
जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देलले शिक्षालाई आयआर्जनसँग जोड्नसके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने गरी विद्यालयले कार्यक्रम अघि बढाएको बताए ।

उनका अनुसार शिक्षालाई व्यावहारिक बनाउनुका साथैर पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न र विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने विद्यालयको लक्ष्य हो । विसं २०६८ देखि प्राविधिक विषय अध्यापन सुरु भएको जनज्योति माविमा २६ बढि जिल्लाका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन्। कृषि विषय अध्ययन गर्ने विद्यार्थीलाई च्याउ खेती, पशुपालन, तरकारी खेतीका लागि ऋणसहित खेतीयोग्य जमिन उपलब्ध गराइएको छ।

विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीले कृषि उत्पादनमा लागेर विद्यालयको मासिक शुल्क बुझाएर बचतसमेत गर्ने गरेका छन्। पढ्दै कमाउँदै कार्यक्रमलाईबराहाताल गाउँपालिकाले पनि प्रत्येक विद्यालयमा लागू गर्नेयोजना बनाएको छ। विद्यालयलाई आवश्यक जग्गा उपलब्ध गाराइदिनेदेखि व्यवहारिक शिक्षामा जोड दिने गाउँपालिकाको योजना छ ।

तपाईको प्रतिक्रिया