सुर्खेत । पाठेघरको मुखको क्यान्सरबाट कर्णालीमा पनि थुप्रै महिलाहरु पीडित छन् । ह्युम्यान प्यापिलोमा भाइरसको संक्रमणका कारण महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुने गरेको हो । तर सरकारले पहिलो पटक किशोरावस्थाबाटै यो समस्या समाधान गर्न खोप अभियानको शुरुवात गर्न लागेको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा यहीँ भदौ २७ देखि ३० गतेसम्म आठसय जना १४ वर्षका किशोरीहरुलाई खोप लगाउन लागिएको छ । आठ सय डोज खोप सुर्खेत आइसकेकाले पहिलो चरणमा १४ वर्षका किशोरीहरुलाई मात्रै लक्षित गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

एचपीभी भाइरसबाट पाठेघरको मुखको क्यान्सर फैलिन नदिन अघि नै खोप किशोरीहरुलाई लगाएर संक्रमण फैलिनबाट रोक्नु नै खोप अभियान थालिएको कँडेल बताउँछन् । एच.भि.पि खोप लगाएपछि महिलाहरुमा हुने पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा आउने मुसाबाट बचाउने कँडेल बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले पाठेघरको मुखको क्यान्सर रोक्न देशका सात वटै प्रदेशमा स्वास्थ्य कार्यालयको समन्वयमा किशोरीहरुलाई खोप लगाउनेछ ।
सुर्खेतमा निर्धारित समयमा खोप लगाउनका लागि आवश्यक तयारीमा गरिरहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतम जानकारी दिए ।
‘पहिलो चरणमा कम मात्रामा खोप आएकाले विद्यालयहरुबाट कोटा निर्धारण गरेर खोप लगाउने की भन्ने तयारीमा छौं,’ गौतमले भने, ‘खोप लगाउनकै लागि धेरै जना आउन सक्ने भएकाले अहिलेलाई वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेर खोप लगाउने किशोरीहरुको संख्या माग गरिनेछ ।’
यो खोप पहिलो लगाएको ६ महिनाभित्र दोस्रो डोज लगाउनुपर्नेछ । खोपको दुवै मात्रा लगाएपछि एच.भि.पि. भाइसर प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा गर्ने गौतम बताउँछन् । गार्डसिल भनिने एचपीभी खोपले नौ प्रकारका एचपीभीबाट बचाउँने बताइएको छ । त्यसमध्ये दुई त्यस्ता भाइरस हुन् जसले झण्डै सबै प्रकारका पाठेघरको मुखको क्यान्सर गराउँछन् ।

खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुश तथा रिंगाटा लाग्ने र ज्वरो आउने समस्या देखिन सक्ने भएकाले चिकित्सकले निगरानी गरिने गौतम बताउँछन् ।
‘यी असरहरु सामान्य हुने र केही समयमा आफै हराएर जान्छ । तर हामीले खोप लगाएको ३० मिनेटसम्म खोप केन्द्रमै विश्राम पनि गराउँछौं,’ गौतमले भने, ‘कसैलाई असरहरु रही राखेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न खोप लगाएकै दिन किशोरीहरुलाई परामर्श पनि दिने व्यवस्था गर्दैछौं ।’ सरकारले सन् २०२४ मा एच.पि.भि. खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीहरुलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने तयारी गरेको छ ।
पाठेघर र यससम्बन्धी क्यान्सर
पाठेघर महिलाहरूको एक प्रमुख प्रजनन अंग हो, जुन पेटको तल्लो भागमा हुन्छ । पिसाब थैली यसको ठीक अगाडि र मलद्वार पछाडि हुन्छ । यो नासपाती आकारको हुन्छ । डिम्बाबाहिनी नली तथा मांशपेसी तत्वहरूले दुवैतिरबाट अड्याइ राख्न मद्दत पुर्याएको हुन्छ ।
पाठेघरलाई तीन भागमा बाँड्न सकिन्छ- Fundus सबैभन्दा माथिकाे फराकिलाे भाग । Isthmus बीचकाे साँघुराे घाँटीजस्ताे भाग र Cervix पाठेघरकाे मुख, जुन तल याेनीद्वारमा खुल्छ ।
किन हुन्छ पाठेघरमा क्यान्सर ?
नेपालमा महिलाहरूमा पाठेघरकाे मुखकाे क्यान्सर सबैभन्दा बढी हुने गरेकाे पाइन्छ । खासगरी सानाे उमेरमा याैन सम्पर्क तथा भाइरसकाे संक्रमण यसकाे प्रमुख कारण मानिएकाे छ । तर कारण यति मात्र हाेइन, अरू पनि हुन्छन् ।
- कलिलै उमेरमा विवाह भएका महिलाहरूमा
- कलिलै उमेरमा याैन सम्पर्क राख्ने महिलाहरूमा
- बढी पुरूषसँग याैन सम्पर्क भएका महिलाहरूमा
- बढी सन्तान जन्माएका महिलाहरूमा
- खानपिनमा ध्यान नदिने तथा कुपाेषण भएका महिलाहरूमा
- HIV भाइरसकाे संक्रमण भएका महिलाहरूमा
- पाठेघर वा याैनसम्बन्धी बराबर संक्रमण भएका महिलाहरूमा
- Hormone तथा Pills बढी लिने महिलाहरूमा
सुरुकाे अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्छ तर राेग बढेकाे खण्डमा यस्ता लक्षणहरू देखा पर्न सक्छन् ः
- फाेहर पानी देखिनु
- याैनसम्पर्कपछि रगत देखिनु
- महिनावारीकाे बीचबीचमा रगत देखिनु
- महिनावारी सुकिसकेका महिलाहरूमा रगत देखिनु
- तल्लाे पेट दुख्नु
- क्यान्सर फैलिएकाे अवस्थामा दिसाबपिसाब गर्दा अप्ठेराे हुनु ।

सुशील खड्का । २४ भाद्र २०८०, आईतवार १७:३८