सुर्खेत । कर्णालीको आर्थिक वर्ष २०८०–०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् । कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली सुखारी कर्णालीबासीको दिर्घकालीन लक्ष्यलाई संगाल्दै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने छ ।
नेपाल सरकारको पन्ध्रौं योजना र कर्णाली प्रदेशको पाँच वर्षे विकासको मार्गचित्र सहित प्रथम पञ्चवर्षीय योजना (२०७६/०७७–२०८०/०८१) कार्यान्वयनमा रहेको छ । उक्त योजनाले निर्धारण गरेका प्राथमिकतामा रहेर योजना अवधिमा हासिल गर्न तोकिएका परिमाणात्मक लक्ष्यहरू प्राप्त गरी समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकाली सोचका साथ समावेशी, दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रुपान्तरण, समतामूलक समाज र सामाजिक न्याय सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा गरिने अर्थमन्त्री सिंहले बताए ।

उनले कर्णालीको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण गरिने, वित्तिय सुशासन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिने उल्लेख गरे । साथै अवण्डामा बजेट विनियोजन कार्यलाई निरत्साहित गरिने छ । बजेटका प्राथमिकता तथा नीति अन्तर्गत बहुवर्षीय योजना पुरा गर्ने र नयाँ रणनीतिक योजनाको अवलम्बन गरिने, प्रत्येक वर्ष १० हजारलाई रोजगारी सिर्जना गर्न गरी कर्णाली समृद्धि अभियान चलाइने उनको भनाई छ ।


नेपाल कर्म । ११ जेष्ठ २०८०, बिहीबार १७:५०