सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । शनिबार कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउन आइतबारबाट प्रशिक्षण दिन लागिएको जनाएको छ ।

बिहीबार बसेको प्रदेश समितिको बैठकले कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको थियो । सोहीअनुरूप गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले बताए ।


विपी कोइराला जयन्तीका अवसरमा भदौं २४ र २५ गते पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई सेवा प्रवाहमा जिम्मेवार बनाउन प्रशिक्षण दिन लागिएको सभापति शाहीले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसको इतिहास, चुनावताको समयमा गरिएका प्रतिवद्धता जनताका आशा, संघीयताको मर्म अनुरुप सेवा प्रवाह भए नभएका विषयमा समेत अन्तरक्रिया गरिने शाहीले बताए ।
शाहीका अनुसार स्थानीय तहमा पार्टीको घोषणापत्रअनुरुप जनपक्षीय काम, कानुनी जटिलता, आर्थिक सुशासन तथा पारदर्शितालगायतका विषयमा प्रशिक्षण दिइनेछ । प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसबाट गत स्थानीय तहमा निर्वाचित भएका ६४ जना जनप्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

नेपाल कर्म । २३ भाद्र २०८०, शनिबार १७:४९