दैलेख । भैरवी–२ का तुलाराम विष्टको बारीमा मकै पाक्दै थियो। तर जंगली बँदेल र बाँदरले खाएर सखाप पारिदिए। केही साताभित्र भित्र्याउने तयारीमा रहेको मकै जंगली जनावरले खाइदिएपछि विष्टको परिवारलाई अब वर्षभररि कसरी छाक टार्ने भन्ने चिन्ताले पिरोलेको छ। पाक्दै गरेको मकै जोगाउन बारीमै कुरेर बस्दासमेत जंगली जनावरबाट जोगाउन नसकिएको विष्टले दुःखेसो पोखे।

सुर्खेतको बराहताल–१ का सुर्जा कार्कीको पाक्दै गरेको बाली बाँदरले नोक्सान गरेका छन्। वर्षभरि खाने अन्न बारीमै बाँदरलगायतका जंगली जनावरले सखाप पारेपछि उनलाई निद्रा पर्न छाडेको छ।

‘जंगली जनावरले हाम्रो गाँस नै खोसे,’ उनले भनिन्, ‘जब बाली पाक्न थाल्छ, तब जंगली जनावरले नोक्सान गरिदिन्छन्। कहिल्यै पनि राम्रोसँग बाली भित्र्याउन पाउँदैनौं।’ जंगली जनावरबाट वर्षौंदेखि आफूहरू हैरान भए पनि सरकारले क्षतिपूर्ति र राहत नदिएको उनको गुनासो छ।

वर्षभरि खाने अन्न भित्र्याउने बेलामा बाँदरले बारीमै मकै सखाप पार्न थालेपछि जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरका मगबहादुर सिंहलाई अब परिवारको छाक कसरी टार्ने भन्ने चिन्ता छ। हिजोआज बाँदर धपाउनकै लागि उनी दिनभर बारीमै बस्छन्।
बाँदरले मकै खाइदिने र नष्ट गर्न थालेपछि मकै जोगाउन उनले बारीमै कुर्नु परेको हो। कर्णालीका किसानलाई बर्सेनि जंगली जनावरको आतंक झेल्नुपर्ने बाध्यता छ। वर्षात्को समयमा मुख्य खेती धान र मकै तथा हिउँदको समयमा गहुँलगायतका बाली पाक्नै लाग्दा जंगली जनावरले नोक्सान गर्दै आएका छन्।

नेपाल कर्म । २३ भाद्र २०८०, शनिबार १५:४२