नेपालगञ्ज । बाँकेमा गएराति सामुदायिक वनका उपभोक्ता सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्।
बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थित जंगलमा गएराति करिब साढे ९ बजे रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग तीव्र गतिमा रहेको ना ७ ख २३२१ नम्बरको भ्रमणको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बसमा ४१ जना सबार थिए।
बर्दियाको ठाकुरद्वारा नगरपालिका ९ को बेतनी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।

‘वन उपभोक्ता समूहका पदाधिकारी र उपभोक्ताले भ्रमणको लागि रिसर्ज गरेको बस दुर्घटनामा परेको हो,’ डीएसपी डाँगीले भने, ‘दाङको थारु संग्रहालय भ्रमण गरेर फर्किने क्रममा राति करिब साढे ९ बजे बिग्रिएर सडक किनारमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा दुर्घटना भएको हो।’
दुर्घटनामा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको मृत्यु भएको डाँगीले बताए।

चालक चन्दसहित ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र ठाकुरबाबा नगरपालिका–७ का ६५ वर्षीय साधुराम थारुको दुर्घटनामा मृत्यु भएको छ।
डीएसपी डाँगीका अनुसार नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि दुर्घटनामा मृत्यु भएको छ।
घाइते चारजनाको नर्सिहोम नेपालगञ्ज र बाँकी सबै घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

नेपाल कर्म । २३ भाद्र २०८०, शनिबार ०७:१५