एमाले कर्णाली प्रदेश अधिवेशनको लोगो सार्वजनिक

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। आगामी असोज १० र ११ गते वीरेन्द्रनगर सुर्खेतमा हुने प्रदेश अधिवेशनको तयारीमा जुटेको हो। एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनका लागि नारा र लोगो सार्वजनिक गरिएको जानकारी दिए।



अध्यक्ष शाहका अनुसार दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौं भन्ने नाराका साथ सम्पन्न हुने अधिवेशनका लागि कर्णाली प्रदेशको ऐतिहासिक र पर्यटकिय स्थलको परिचय दिने पार्टीको चिह्न सुर्य अंकित लोगो सार्वजनिक गरिएको छ।

यस्तै, एमालेले कर्णाली प्रदेशको कार्यालय बैठकले अधिवेशनका लागि प्रदेशभर भदौ ३० गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय समेत गरेको छ।

कार्यालय बैठकले प्रतिनिधिको सङ्ख्या, छनौटको आधार र मापदण्ड टुङ्गो लगाएको छ। बैठकले अधिवेशन भव्यताका साथ सफल पार्न प्रदेश कमिटी अध्यक्ष शाहको संयोजकत्वमा १५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

प्रदेश अध्यक्ष शाहकाअनुसार अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहनेछ। भूगोलतर्फ एकसय पार्टी सदस्य बराबर एक, दलिततर्फ ७५ पार्टी सदस्य बराबर एक जना प्रतिनिधि छनौट हुनेछन्।

त्यस्तै एकतिहाइ महिला प्रतिनिधि छनौट गर्नुपर्ने छ। प्रतिनिधि छनौटका लागि पालिका, दलिततर्फको लागि प्रदेश निर्वाचन क्षेत्र रहने र दलित पार्टी सदस्यले भूगोल वा दलितमध्ये कुनै एक क्षेत्र रोज्न सक्नेछन्।

प्रतिनिधि छनौटको व्यवस्थापन भूगोलका लागि सम्बन्धित पालिका कमिटी र दलितका लागि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्नेछ । प्रदेश अधिवेशनमा जनसंगठनको समेत प्रतिनिधित्व रहेनछ। प्रदेश कमिटीमा १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

तपाईको प्रतिक्रिया