लाखे जात्रामा तरवारले औंला काट्ने एक पक्राउ, दुई फरार

सुर्खेत। कृष्ण जन्माष्टमीको पूर्व सन्ध्यामा वीरेन्द्रनगरस्थित गणेश चौकमा तरवारले औंला काट्ने एक युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ गणेश चोकमा बिहीबार साँझ लाखे जात्रा नचाइरहेको समयमा आपसी झगडाहुँदा भएको विवादमा तरबारले औंला काट्नेलाई प्रहरीले पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ खोर्के लाइनमा बस्ने अन्दाजी १८ वर्षीय प्रविण नेपाली छन् । उनीसहितको टोलीले लाखे नाचमा प्रयोग गरेको तरवारले वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीय पृथ्वीसिंह ठकुरीको हातको औंला काटेका थिए ।

उनको टाउँकोमासमेत चोट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्ण खड्काले नेपालकर्मलाई जानकारी दिए । घाइते ठकुरीलाई थप उपचारका लागि काठमाडौं लगिएको खड्काले बताए ।

घटना लगत्तै रहेका फरार रहेका नेपालीलाई बिहिबार साँझ नै पक्राउ गरेको खड्काको भनाई छ । उनकाअनुसार घटना संलग्न वीरेन्द्रनगर– ६ खोर्के लाइनमा बस्ने अन्दाजी १८ वर्षीय शाहीमान पुनमगर र सौरव मगर फरार छन् । उनीहरुको खोजी भइरहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया