सुर्खेत । आज (बिहीबार) ‘श्रीकृष्ण जन्माष्टमी’ देशभर धुमधामका साथ मनाइँदैछ । भगवान श्रीकृष्णको जन्म भएको अवसरमा देशभर यो पर्व श्रीकृष्णको पूजाआराधना गरी मनाइने गरिन्छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।
कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ ।

नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । पछिल्लो सयम यहि परम्परालाई निरन्तरता दिदै सुर्खेतमा पनि लाखे नाच नचाउने होडबाजी बढ्दै गएको छ ।
हिन्दु संस्कृतिका रुपमा रहेको लाखे नाचको संरक्षण गर्ने नाममा सुर्खेतमा तडकभडक बढन् थालेको छ । विभिन्न युवा क्लव तथा संस्थाहरुले नचाई रहेका लाखे नाचमा खुलमखुल्ला बालबालिका प्रयोग हुने क्रम बढ्दो छ ।
कानुनमा कुनै पनि प्रकारका हात हतियार तथा सभा समारोहमा बालबालिका प्रयोगमा निषेध गरिएको छ । तर, लाखे नाचका नाममा धारिलो हतियार तरवार खुलमखुला नचाईदा सुरक्षा चुनौती बढेको छ । लाखेमा सजिएकाहरुले प्रदर्शन गर्ने अश्लिल हर्कतले सामाजिक सद्भावमासमेत असर पार्दै गएको लाखे नाचको संरक्षणमा जुटेका वीरेन्द्रनगर–९ का प्रवाशकुमार शाक्य बताउँछन् ।
सडकमा गाडी रोक्ने, बालबालिकाको प्रयोग, व्यक्ति तथा व्यवसायीसँग गैर कानुनीरुपमा आर्थिक संकलन गर्ने प्रचलन बढ्दा प्रशासन मौन बसेको शाक्यको भनाई छ ।
मदिरा सेवन गरी तरवार नचाईदा झुक्किएर होस् वा हातबाट फुत्किएको खण्डमा मानविय क्षति हुने जोखिम उत्तिकै छ । अर्कोतर्फ बालबालिकालाई समावेश गराउँदा बाल मनोविज्ञानमा गम्भिर असर पर्ने कर्णाली प्रदेश अस्पताल सुर्खेतका मनोविद पूर्ण रावत बताउँछन् । विशेष गरी सिकारु उमेरमा रहेका बालबालिकाहरुलाई हतियार समाउने कार्यमा संलग्न गराईदा अपराधिक मनोविज्ञान स्थापित हुनमा सहयोग पुग्ने उनको भनाई छ ।

संस्कृतिका नाममा बालबालिकालाई हतियारसँग खेल्न दिइनु बालअधिकारका दृष्टिकोणले गलत रहेको बालअधिकारका क्षेत्रमा लामो समय काम गरेका राजु लामिछाने बताउँछन् ।
साना उमेरका बालबालिकालाई यस्ता खालका क्रियाकलापमा सहभागि बनाइनु बालअधिकारको गम्भिर हनन् भएको भन्दैै यसको बेलैमा रोकथाम गर्न जरुरी रहेको लामिछानेको भनाई छ ।
कुनै पनि सार्वजनिक स्थलमा मेला, महोत्सव, जात्रा लगायतका कार्यक्रमहरु प्रदर्शन गरिदा स्थानीय प्रशासनसँग अनुमति लिनपर्ने हुन्छ । तर, कतिपयले अनुमति बिनै धारिला हतियार प्रदर्शन गर्दा प्रशासन भने मौन छ ।
यस विषयमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले लाखे नाचका नाममा भइरहेका गलत क्रियाकलाप रोक्नका लागि सार्वजनिक सूचना जारी गर्न लागिएको बताए ।
धार्मिक र सांस्कृतिरुपमा महत्वपूर्ण रहेको लाखे नाचको संरक्षण गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै प्रजिअ सापकोटाले सामाजिक विकृति र गैर कानुनी काममा संलग्न जो कोहीलाई पनि कारवाही हुने बताए ।

नेपाल कर्म । २१ भाद्र २०८०, बिहीबार १४:५४