सुर्खेत । लुम्बिनी प्रदेशको बाँकेस्थित नेपालगञ्जमा रहेका कर्णालीका प्रहरी संरचनाहरु सार्ने प्रक्रिया शुरु गरिएको छ । संघीयताको कार्यान्वयनसँगै कतिपय प्रहरीका संरचनाहरु अझै पनि नेपालगञ्जमै रहेपछि आलोचना बढ्दा कर्णाली सरकारले अपनत्व लिएर प्रहरी कार्यालयहरु कर्णालीमा सार्ने प्रक्रिया शुरु गरेको हो ।
पहिलो चरणमा नेपालगञ्जमा रहेका कर्णालीका चार ओटा प्रहरी संरचनामध्य कर्णाली प्रदेशको प्रहरी विशेष सुरक्षा गण स्थान्तरण गर्न लागिएका छ । गणका लागि आवश्यक जग्गाको व्यवस्थापनसँगै बजेट नै प्रदेश सरकारले विनियोजन गरेपछि केही महिनामा सुर्खेतमा सारिनेछ ।


जग्गाको व्यवस्थापन नहुँदा अन्यौलता रहेका प्रहरी संरचनाहरुका लागि आवश्यक जग्गाको टुंगो लागेपछि विस्तारै सबै संरचना कर्णालीमा सारिने आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले नेपालकर्मलाई जानकारी दिए ।
‘नेपालगन्जमै रहेको कर्णाली प्रदेशको प्रहरी विशेष सुरक्षा गण स्थानान्तरण गर्न प्रक्रियाको शुभारम्भ गरिएको छ,’ कर्णाली सरकारका प्रवक्तासमेत मन्त्री जिसीले भने, ‘आवश्यक संरचना निर्माणका लागि एक करोड ९१ लाख २९ हजार ८६४ रुपैयाँ बराबरको बजेट स्वीकृत गरिएसँगै लुम्बिनीमा रहेका प्रहरी कार्यालयहरु अब विस्तारै कर्णालीमा सारिनेछ ।’
गणका लागि सुर्खेतको गुर्भाकोट नगरपालिकामा–१३ र १४ मा जग्गा प्रहरीका नाममा नामसारी भएपछि प्रक्रियाको थालनी गरिएको कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले नेपालकर्मलाई जानकारी दिए ।
उनकाअनुसार २६ असारमा भएको सङ्घीय मन्त्रिपरिषद्ले जग्गाको स्वीकृत दिने निर्णय गरेको छ । गणका लागि साबिक गुमी गाविस–३ (हाल गुर्भाकोट १३,१४) ग कित्ता नम्बर ४०, क्षेत्रफल ३.५.१ विगाह मध्ये क्षेत्रफल १.८.० विगाह र सोही गाविस–५ च कित्ता नं २ को क्षेत्रफल २.२ .१९.५ विगाह जग्गा प्रहरी विशेष सुरक्षा गण कर्णाली प्रदेशलाई प्रदान गर्न स्वीकृत भइसकेको छ ।
बजेटको सुनिश्चितता भएसँगै जति सक्दो चाडो विशेष सुरक्षा गणलाई सुर्खेत सार्ने तयारीमा लागेको डिआइजी ढकाल बताउँछन् । १२ साउनमा कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्रानुसार बाँकेमा रहेको उक्त प्रहरी संरचनालाई गुर्भाकोटमा स्थानान्तरण गरिने तय भएको प्रवक्ता मन्त्री जिसी बताउँछन् ।


गुमीमा रहेका भवनहरू उपयोगविहीन भई जीर्ण अवस्थामा रहेका छन् । ती भवनहरूको मर्मत सम्भार र पुनर्निर्माणका लागि सरकारले बजेट स्वीकृत गरेको मन्त्री जिसीले भनाई छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट खर्च व्यहोर्ने गरी रकम विनियोजन गर्न स्वीकृत दिइएको हो ।
लुम्बिनी प्रदेशको नेपालगञ्जमा हाल कर्णालीका प्रहरी कार्यालयमा प्रहरी विशेष सुरक्षा गण, संघीय प्रहरी कार्यालय, विशेष दंगा प्रहरी गण र केनाई (कुकुर) शाखा छन् ।
संघीय कार्यालय, कुकुर शाखा र प्रहरी स्कुल स्थापना गर्न वीरेन्द्रनगर–५ चिसापानीमा रहेको जग्गामा सार्न लागिएको छ । यसका लागि जग्गा स्वीकृत भइसकेकाले आवश्यक बजेट माग भइसकेको कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक (डिआइजी) ढकालले जानकारी दिए ।
‘प्रहरी स्कुल सञ्चालनका लागि चुनौती भइरहेको छ, कुल तीन विगाह आठ कठ्ठा जग्गामध्य दुई विगाहमा स्कुलको भवनका निर्माण गर्ने तयारी छ,’ ढकालले भने, ‘एक विगाहमा संघीय प्रहरी कार्यालय र बाँकी रहेको आठ कठ्ठा जग्गामा केनाइ (कुकुर) शाखाको भवन निर्माणका लागि बजेट माग गरिसकेको छौं ।’
विशेष दंगा गणका स्थापना गर्न रुकुम पश्चिम र सुर्खेत पश्चिमको बावियाचौरमा रहेको जग्गा स्वीकृतका लागि सबै प्रक्रिया पूरा गरेर फायल गृह मन्त्रालयमा पठाइएको छ । तर कार्यालयकाअनुसार दुवै ठाउँको जग्गा स्वीकृत भएमा रुकुम पश्चिममा दंगा गणको मिनि तालिम केन्द्र र बावियाचौरमा मुख्य गण राख्ने तयारी छ ।

नेपाल कर्म । १९ भाद्र २०८०, मंगलवार १८:४२