१० दिन वित्यो तर सेनाका मेजर सम्पर्कविहिनको सुराक भेटिएन

फाेनमा कसैसँग कुरा गर्दै मेजर पण्डितले भनेका थिए, ‘फोन रेकर्ड मेरो हैन, म्यासेज नि मेरो हैन’

सुर्खेत । डोल्पामा रहेको नेपाली सेनाको ब्यारेकबाट निस्किएका सेनानी (मेजर) विमल पण्डितको अवस्था अझै अज्ञात रहेको छ । डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको १० दिन पुग्दा पनि उनी सम्पर्कमा आएका छैनन्।



डाेल्पा ब्यारेकमा कार्यरत सेनानी विमल पण्डित । उनी यहीँ भदाै १० गतेदेखि त्रिपुराकाेटबाट सम्पर्कविहिन बनेपनि हालसम्म कुनै पत्ताे लागेकाे छैन् ।

इभिनिङ वाकमा गार्डसमेत नलिई ब्यारेकबाट यहीँ भदौ १० गते साँझ निस्केका मेजर सोही दिनदेखि सम्पर्कविहीन छन्। सम्पर्कविहिन भएको भोलीपल्टबाट खोजविन थालेका सुरक्षा निकायले पण्डित हराउनुको कुनै कारणसमेत फेला पर्न सकेका छैनन् ।

सेनानी पण्डित सम्पर्कविहिन भएको त्रिपुराकोट क्षेत्रका सबै ठाउँमा पुगेर सुरक्षा निकायले खोज्दा पनि कुनै पत्तो लाग्न नसकेको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्चर पोख्रेलले नेपालकर्मलाई जानकारी दिए ।

उनकाअनुसार त्रिपुराकोट बाहेक जुम्ला, दुनैदेखि डोल्पाको तल्लो क्षेत्र, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा खोजी गर्दा पनि सम्पर्कविहिन हुनुको कुनै सुराक भेटिएको छैन् ।

‘उहाँलाई खोज्नु पर्ने सबै ठाउँमा खोजविन गरेर थप क्षेत्रमा खोज्न अहिले पनि सुरक्षाका चार वटै टोली परिचालन छ,’ पोख्रेलले भने, ‘रातदिन नभनी डोल्पाका प्रत्यक घरघर, खोला–खाल्सा सबैमा सुरक्षाकर्मी पुगेका छन्। तैपनि पत्ता लाग्न सकेको छैन ।’

मेजर पण्डितलाई खोज्न नेपाली सेनाको जुम्लाबाट प्रमुख सेनानी सुमन श्रेष्ठसहितको टोली एक हप्तादेखि डोल्पामा छ । स्वभावले कमै बोल्ने बानी भएका मेजर पण्डित मानसिक हिसाबमा ठीक रहेकाले घरायसी विवादले कतै गएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्। तर पण्डितका परिवारले घरपरिवारसँग कुनै विवाद नभएकाले कि सास नभए लाश पनि पत्ता लगाइदिन आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी पोख्रेल बताउँछन् ।

कागेश्वरी नगरपालिका डाँछी, ‘काठमाडौं घर भएका मेजर पण्डित त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोटसम्म पुगेको खुलेपनि त्यहाँबाट कहाँ गए भन्ने कुनै पत्तो सुरक्षा निकायले पाउन सकेको छैन् ।

उनी त्रिपुराकोट पुगेपछि नगद २६ हजार सटही गरेर झोला पनि किने, मोबाइल चार्ज गरेको र त्यसपछि एक होटेलमा पुगेर कोठा छ–छैन भनी सोधेको अनुसन्धानबाट खुलेको छ पोख्रेल बताउँछन् । त्यसपछि त्यहाँबाट निस्किएका उनी कहाँ गए भन्ने कुनै पत्ता लाग्न सकेको छैन् ।

मेजर पण्डितलाइ त्रिपुराकोटसम्म पुर्याएका चालक नगेन्द्र बस्नेतकाे यस्तो छ भनाइ :-
म गाडीसहित गाडीमा दुई तीन जना यात्रुहरु थियौं । अन्य यात्रुहरु टिकटक बनाइराख्नु भएको थियो । सोही समयमा उहाँ आउनुभयो । मलाई हतार छ, त्रिपुराकोट जानुछ, छिटो जाउँ भन्नुभयो ।

जीप रिजर्भ गरेर गएका मेजर पण्डितलाइ दुनैबाट त्रिपुराकाेट पुर्याउने सवारी चालक नगेन्द्र बस्नेत ।

मैले गाडी स्टार्ट गरे । उहाँले त्यसबेला भन्नुभयो, ‘तिमिले गाडी कहीँ कतै रोक्नु परेन् । मैले डिएसपी सापसँग कुरा गरेकाे छु । गाडी कहिँ कतै इन्ट्री गर्नुपर्दैन जाउँ भनेपछि अगाडी बढ्यौं ।’

उहाँले म मजेर साप हो भन्नु भएको थियो मैले तर यहीँको कोही लोकल हुनुहोला मेयर साप भन्ने बुझे । उहाँले बाेलिरहँदा हताेत्साहित अवस्थामा हुनुहुन्थ्याे, बाेली लडबडिरहेकाे थियाे । ब्यारेक नजिकै पुगेपछि उहाँले नै सेनालाई गेट खोल्न लगाउनुभयो । गेट खेाली पछि हामी त्रिपुराकाेटतर्फ लागाैं । ईमरजेन्सी लाइट बाल्न लगाउनुभयो ।

कालागौडादेखि माथि सोलिङ गरेको ठाउँ पुगेपछि उहाँको मोबाइलमा फोन आयो । गाडीमा गीत बजाइरहेकाले भोलुम घटाउ भन्नुभयो र फोनमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘फोन रेकर्ड मेरो हैन, म्यासेज नि मेरो हैन ।’

उहाँले हतार गरेपछि गाडीको स्पिड बढाउन भन्नुभयो मैले गाडी अलि छिटो चलाउन थाले, पहिलो पटक फोन राखेको पाँच मिनेट पछि पुनः उहाँको मोबाइलमा फोन आयो, केही बेर कुरा गरेर राख्नुभयो ।

उहाँले नै भाडाको रकम खातामा पठाइदिन्छु, खाता नम्बर छ भनेर सोध्नुभयो । मैले छैन खाता भनेपछि रिभर साइटमा झरेर सोध्नुभयो, ‘पैसा ट्रान्सफर्मर गर्छु मलाई अलि बढी पैसा चाहिएको छ भन्दा त्यहाँ कसैले खातामा पैसा पठाउन नमिल्ने बतापछि पुनः गाडी चढ्नुभयो ।’

हामी अगाडी बढौं, मैले भने हाम्रो गाडी साहुसँगै कुरा गर्नुहोला जाउ भनेपछि त्यहाँ छोडेर साउजीसँग कुरा गराएर म खाली गाडी लिएर फर्किए । फर्किदा बाटोमा त्रिपुराकोटतर्फ गइरहेको नेपाली सेनाको गाडीसँग भेट भयो ।

उहाँहरुले रोकेर भन्नुभयो, ‘मेजर साप लिएर गाडी गएको यहीँ हो ।’ मैले हो भने त्यसपछि मात्रै थाहा भयाे की उहाँ त मेजर साप पाे हुनुहुँदाे रहेछ । त्यसपछि उहाँहरुले थप कुरा नगरेर उहाँहरु उता जानुभएको हो । उहाँले गाडी भाडा ६ हजार पाँच सय रूपैयाँ साहुजीलाई दिनु भएकाले त्यसपछि उहाँ कहाँ जानुभयो मलाई जानकारी छैन् ।

तपाईको प्रतिक्रिया