डोल्पामा फेला पर्‍याे मनाङको तिलिचोभन्दा अग्लो स्थानमा नयाँ ताल

सुर्खेत ।  डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा तिलिचो भन्दा पनि अग्लो स्थानमा ताल फेला परेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका छन्। डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा नयाँ ताल फेला परेको हो।



स्थानीयमाझ कुन्ख्येन फालक नामले चिनिने यो ताल समुन्द्र सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा रहेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका हुन्।

नेपालमा हालसम्म प्रमाणित सबैभन्दा उचाइमा रहेको ताल मनाङ जिल्लाको तिलिचो ताल हो।

यो विश्वकै सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येमा पनि पर्छ। अन्नपुर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहबाट ४ हजार ९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर छ। चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।

डोल्पाको फालगाउँमा भेटिएको ताल समुद्र सतहबाट ५ हजार १९० मिटर उचाइमा रहेको दाबी स्थानीय जनप्रतिनिधिले गरेका हुन्। उनीहरुको दाबी अनुसार यो ताल तिलिचोभन्दा २ सय ७१ मिटर बढी उचाइमा अवस्थित छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले डोल्पोबुद्ध गाउँपालिकाका जनप्रतिनिले ५ हजार १ सय ९० मिटरको उचाइमा नयाँ ताल फेला परेको जानकारी आफूलाई पनि गराएको बताए।

‘यो ताल तिलिचोभन्दा २ सय ७१ मिटर बढी उचाइमा अवस्थित छ भन्ने दाबी उहाँहरुले गर्नु भएको छ,’ पोखरेलले भने, ‘तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ। त्यो तालको लम्बाइ, चौडाइ र गहिराइ कति हो, त्यो पनि यकिन भएको छैन।’

डोल्पोबुद्धका जनप्रनिधिले फेला पारेको सबैभन्दा धेरै उचाइको नयाँ ताल आसपास नै अन्य दुई ताल पनि रहेका जानकारी आफूलाई आएको पनि उनले बताए।

‘त्यो क्षेत्रमा नजिक नजिकै अन्य दुई ताल पनि रहेको जानकारी आएको छ,’ प्रजिअ पोखरेलले भने, ‘जनप्रतिनिधिले दाबी गरेअनुसार त्यो ताल तिलिचोभन्दा बढी उचाइमा रहेको हो, होइन सम्बन्धित निकायले नापजाँच गरेपछि मात्रै यथार्थ खुल्छ। अब हामी त्यसको लागि पहल अघि बढाउँछौँ।’

आइतबार डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देबकोटा कार्यालयमा आएर आफूलाई नयाँ तालको विषयमा जानकारी गराएको उनले बताए।

केही दिनअघि डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ, वडा नम्बर ६ का अध्यक्ष नुर्बु डम्डुल गुरुङसहितका जनप्रतिनिधिले कुन्ख्येन फालक तालमै पुगेर जिपिएस प्रणालीबाट यसको उचाइ नापेको दाबी गरेका छन्।

गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखाएको वडाध्यक्ष गुरुङको भनाई छ।

नयाँ तालको रङ आकाशे निलो छ। प्राकृतिक हिसाबले पनि यो ताल अत्यन्तै मनमोहक र सुन्दर रहेको गुरुङले बताएका छन्।

डोल्पोबुद्ध गाउँपालिकाको केन्द्रबाट तालसम्म पुग्न मोटरसाइकल र पैदल यात्रा गरेर ६ घन्टा लाग्ने उनले बताए।

प्रजिअ पोख्रेलका अनुसार डोल्पोबुद्ध ६ मा पर्ने तिन्जे गाउँ नयाँ फेला परेको तालबाट सबैभन्दा नजिकको मानव वस्ती हो। जहाँबाट तालमा पुग्न स्थानीयलाई २ घण्टा लाग्ने प्रजिअ पोखरेलले जानकारी दिए।

ताल रहेको स्थानबाट नेपाल चीनको १५ नम्बर सीमास्तम्भमा पुग्न दुई घन्टा मात्रै लाग्ने वडाध्यक्ष गुरुङले बताए ।

डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले कुन्ख्येन फालक ताल नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल भएको दाबी गर्दै यथाशीघ्र सरकारले यसको प्रमाणीकरण गर्नुपर्ने बताए ।

‘हामीले जिपिएस मेसिनबाट नापेर यो ताल तिलिचोभन्दा अग्लो स्थानमा छ भन्ने निश्चित गरेका हौँ,’ उनले भने, ‘यसको प्रमाणीकरण अब राज्यको आधिकारिक निकायले गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया