सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीयको काम ६२ प्रतिशत भएको छ । अहिलेसम्म आयोजनाको ६२ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको हाे ।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने योजनासहितको काम भइरहेको छ । जसअन्तर्गत हालसम्म आयोजनामा ६२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लोकनाथ सुवेदीले बताए ।
उनका अनुसार कोरोनाको कारण २ वर्ष आयोजनाको काम प्रभावित हुन पुग्यो । त्यसैले अहिलेसम्म ६२ प्रतिशत मात्र काम भएको उनले बताए । बाँकी रहेको ३८ प्रतिशत काम अबको तीन वर्षभित्र सक्नेगरी भइरहेको उनले बताए ।

गत वर्षको बाढीले नदीमा बाँध निर्माणमा समस्या भएकोले पनि आयोजनाको काममा ढिलाई भएको उनले बताए । अब कुनै अवरोध नआएमा अबको तीन वर्षभित्र सबै काम सक्ने तयारी रहेको छ । उनले भने , ‘तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी धमाधम काम पनि भइरहेको छ ।’

आयोजनको हाल सिभिलतर्फ बाँध र विद्युत गृह निर्माणको काम भइरहेको छ । उनले भने, ‘यसतर्फ हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ । हाइड्रोमेकानिकलतर्फ २५ प्रतिशत र इलेक्ट्रोमेकानिकलतर्फ १२ प्रतिशत काम भएको छ । तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्न छुट्टाछुट्टै ठेक्का सम्झौतामा काम भइरहेको छ ।’

स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजनाको २०७१ साल चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । कुल ३६ अर्ब ८० करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको यो आयोजनामा हालसम्म ५४ प्रतिशत आर्थिक प्रगति भएको छ ।
यो आयोजनाका मुख्य दुई वटा उद्देश्य छन् । पहिलो आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन गरिनेछ । दोस्रो उद्देश्यअन्तर्गत लुम्बिनी प्रदेशका बाँके र बर्दियामा रहेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइनेछ ।
आयोजनाअन्तर्गत पहिलो चरणमा निकै जटिल मानिएको १२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । अहिले सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बा“ध निर्माण र हात्तिखालमा विद्युत्गृह निर्माणको काम चलिरहेको छ ।
अबको कामबाट तीन वर्षभित्रमा भेरीको पानी बबईमा खस्नेछ । त्यसपछि विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्ने योजना रहेको सुवेदीले बताए । यस्तै तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढिरहेको सुवेदीले बताए । सुर्खेतको चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ ।
भेरीको पानी बबई नदीमा खसाल्नका लागि चिप्लेमा बाँध निर्माणको काम भइरहेको छ । त्यहाँ १ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ । आयोजना सञ्चालनहुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्नेछ । आयोजनाले प्रभावित स्थानीयलाई मुआब्जा वितरण गरिसकेको छ । यो कर्णालीमा हाल निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।

नेपाल कर्म । १८ भाद्र २०८०, सोमबार ११:०५