कर्णालीका बहुवर्षिय योजना पुुनरावलोकन गर्न माग

सुर्खेत । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन बुधवारदेखि शुरु भएको छ । प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा बोल्ने सांसदहरुले विगतकाभन्दा आगामी आर्थिक वर्षमा थोरै योजनाहरु समेटेर कार्यान्वयनमुखी बनाउनु पर्ने धारणा राखेका छन् ।




नयाँ योजना भनेर पुरानै लिएर बजेट पास गर्नुपर्ने अवस्था कर्णालीमा रहेकाले त्यसलाई चिर्न आवश्यक रहेको प्रतिपक्षी दलका नेता यामलाल कँडेलले बताए । उनले विगतमा योजनाको छनोट, प्राथमिकता करण र समयको माग अनुसार नभएकाले त्यो समस्या अहिले आएको टिप्पणि गरे । विगतका सरकारले अघि सारेका बहुवर्षिय योजनालाई पुनरावलोकन गर्नु पर्ने तर्क कँडेलको छ ।

‘धेरै बहुवर्षिय योजना यही छन् हुनु पर्ने पनि यहाँ नै हो तर पनि एउटै योजना बनेका रहेनछन्,’ कँडेलले भने, ‘भयो त होला भनेर बुझ्न गएको भएकै रहेनछन् । बनाउनु पर्‍यो भन्ने माग मेरो हैन सक्नुहुन्छ भने पुनरावलोकन गरौं ।’ सरकारका कामकारबाही अझै पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै कँडेलले कर्णाली सरकार व्यवस्था गरेको बाटोभन्दा फरक तरिकाले हिँडिरहेको टिप्पणी गरे । सरकारले बनाउने योजनाहरुमा बिचौलिया हाबी हुने प्रवृत्तिको विकास भइरहेको कँडेलले बताए । कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएपनि प्रदेश सरकारको प्राथमिकतामा राजधानीको विकास नभएको बताए ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बहुवर्षिय योजना विगतका सरकारले ल्याएकाले त्यसलाई पूर्णता दिनुपर्ने बताए । उनले विगतका योजनालाई सकेर नयाँ शिराबाट अघि बढ्नु पर्ने बताए । नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारले गौरवको काम गर्‍यो भन्ने योजनाहरु निर्माणमा गरेर पूरा गर्नुपर्ने तर्क शाहीको छ ।

उनले बजेट अधिवेशनको पहिलो बैठकमा सचिवहरु उपस्थित नभएको प्रति सांसदहरुले आपत्ति जनाएका थिए । केही दिनमा प्रदेश सरकारले प्रिबजेट ल्याएर छलफल गर्ने र लगत्तै नीति तथा कार्यक्रम ल्याउने गृहकार्य गरेको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्ने कानूनी प्रवाधान छ । प्रदेश सभाको अर्को बैठक बिहीबार दिउँसो ३ बजेसम्मका स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया