सुर्खेत । कर्णाली प्रदेशको प्रवेश विन्दु रत्न राजमार्ग हो । यहीँ राजमार्गको वीरेन्द्रनगर–छिन्चु सडक खण्डको समौझी घाटस्थित भेरी नदीमा सस्पेन्सन पुल २०४५ सालमा निर्माण गरिएको हो ।

यो पुल निर्माण गरिएको ३५ वर्ष भएको छ । वीरेन्द्रनगर आउने र बाहिरिने सवारी तथा नागरिकहरुलाई सहजत बनाइदिएको पुलको बिकल्प खोज्न अध्ययनको तयारी गरिएको छ । ठूलो ह्याभी सवारीहरु यो पुलबाट सहज रुपमा नआउँदा कतिपय कर्णालीका ठूला विकास निर्माणका कामहरु अलपत्र छन् ।

शुरुमा पुलकै कारण देखाएपनि त्यसको विकल्पमा सुर्खेत पूर्वको मेहलकुना, जहरे, भेडावारी तथा सुर्खेत पश्चिमको तातापानी, कुइनेमा पक्की पुल निर्माण सकिएर सञ्चालन भइसकेका छन् । तर भेरी नदीमा रहेको यो पुलका वारी र पारी पिल्लरविच भागमा रहेको सपोर्टका कारण ट्रकमा लोड गरिएका सामग्रीहरु क्रस गराउन समस्या छ ।
यद्यपी पुल महाशाखा काठमाडौंले भेरी नदीमा रहेको पुलको विकल्पका रुपमा अध्ययन गर्ने तयारी गरेको छ । हाल भेरी नदीको मर्मत सम्भार पुल महाशाखाले नै गर्दै आएको छ । यो पुलको दुवैतिर हल्का दवेको छ भने बेला बेला नटहरु खुकुलो हुने समस्या छ ।

प्राविधिकहरु पठाएर पुलको मर्मत गर्ने काम निरन्तर भइरहेको महाशाखाका प्रमुख नरेशमान शाक्यले नेपालकर्मलाई जानकारी दिए । ‘केही महिनाअघि मात्रै प्राविधिकसहितको टोलीले मर्मत गरेर फर्किएको छ,’ शाक्य भन्छन्, ‘फेरि पनि प्राविधिकहरु सुर्खेत पुगेर पुल निगरानी गरेर कुनै त्रुटी भएमा काम गर्नेगरी पठाउँदैछु ।’
भेरी नदीको पुल नियमित मर्मत सम्भार गरिए अझै ६५ बर्षसम्म चल्न सक्ने अनुमान सडक कार्यालयका प्राविधिकहरु बताउँछन् । पुल महाशाखाले तत्कालै नभएपनि विस्तारै अर्को पुल निर्माणका गर्न अध्ययन थाल्ने गृहकार्यमा छ ।
‘अहिले पुलको अवस्था ठिकै छ, तर यसको विकल्प समयमै खोज्यो भने भविष्यमा समस्या आउँदैन्,’ महाशाखाका प्रमुख शाक्यले भने, ‘हाल पुल रहेको आसपासमा अर्को पुल बनाउन अध्ययन गर्ने अवस्थामा हामी पुगेका छौं । सम्भवत चाडै नै काम थाल्छौं ।’
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भेरी नदीमा रहेको पुलको अवस्था बुझ्न र मर्मत सम्भारका लागि प्राविधिकहरु पुनः पठाउन लागेको जानकारी दिए । उनले कर्णालीको लाइफलाइन रहेको पुलको मर्मतसँगै रंगरोगन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

नेपाल कर्म । १६ भाद्र २०८०, शनिबार १६:०९