सुर्खेत । एसईईको ग्रेड बृद्धि परीक्षाको तयारी गर्न दैलेखबाट सुर्खेत आएकी एक बालिकालाई अटाे चालकले बन्धक बनाएर बलात्कार गरेकाे रहस्य खुलेकाे छ । १५ वर्षीय ति बालिकालाई वीरेन्द्रनगरस्थित शनिहल लाइनमा रहेकाे एक होटेलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा ३६ वर्षीय युवकलाई पक्राउ गरिएकाे छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–३ घर भई वीरेन्द्रनगर वीरेन्द्रननगर-३ तातापानी बसेर अटो व्यवसाय गरिरहेका सुरेन्द्रबहादुर शाहीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो।


एसईईको नतिजापछि दुई विषयको ग्रेड वृद्धिको लागि घरबाट वीरेन्द्रनगरर फुपूको घरमा आएकी उनलाई बाटोबाटै होटेलमा लिएर पटक-पटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए।
‘यो घटना भदौको पहिलो साता नै भएको भएपनि किशोरीलाई बन्धक बनाएर राखेको हुनाले घटना ढिला बाहिर आयो,’ प्रवक्ता शाहीले भने, ‘पहिलो पटक फुपूको घरमा आएकी उनलाई पुर्याइदिन्छु भनेर विभिन्न डर धम्की दिएर बलात्कार गरेको अनुसन्धानले देखाएको छ।’
प्रवक्ता शाहीकाअनुसार ती बालिका भदौ २ गते दैलेखबाट गाडी चढेर सुर्खेत आएकी थिइन्। उनी साँझपख मात्रै सुर्खेत पुगेको र अस्पतालको चोक नजिक फुपूको घर भन्ने सुनेकोले अटो चालक सुरेन्द्रबहादुरले त्यही मौकामा बलात्कारको योजना बनाएको अनुसन्धानका क्रममा खुलेको छ।
‘घरमा पनि हजुरआमासँग पढाइकै विषयमा ठाक्कठुक्क परेको रहेछ। वीरेन्द्रनगर फुपूको घरमा बसेर पढ्छु भन्ने सोचका साथ ती बालिका आएकी रहिछन्। साथमा फोन पनि रहेनछ,’ शाहीले भने, ‘त्यही मौकामा अटो चालकले पुर्याइदिने भन्दै होटेलमा ल्याई बन्धक बनाएर बलात्कार गरेका रहेछन्।’
सुरेन्द्रले भे १ ह २३०९ नम्बरको अटो रिक्सामा वीरेन्द्रनगर-६ शनिहल लाइनमा रहेको ‘यरो थकाली बार एन्ड लज’ को ४०१ नम्बर कोठमा ल्याई पटक-पटक बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।
चालकले होटल सञ्चालकलाई समेत आफ्नी श्रीमती भन्दै झुक्याएर पछाडिबाट किशोरीलाई कोठामा पुर्याएकोसमेत प्रहरी अनुसन्धानमा देखिएको प्रवक्ता शाहीले बताए।

‘बालिकालाई फकाउन खोजेको कुरा होटलको सीसीटीभीमा समेत देखिएको छ। नाम इन्ट्री गरिसकेपछि पनि अटो चालक तीन पटक बाहिर र भित्र गर्छन्। बालिका आउन नमानेको देखिन्छ,’ शाहीले भने, ‘होटेललाई पनि झुक्याएको रहेछ। ती बालिकालाई जान खोजेको ठाउँ नभेटिएकोले आजलाई अबेर भयो। तिमीलाई यहाँ बसाएर म जान्छु भनेर झुक्याएछ।’
प्रवक्ता शाहीकाअनुसार उनले ती किशोरीलाई कोठामा लगेर आफू यो क्षेत्रको डन भएको भन्दै कतै कुरा गरेमा मारिदिन्छु भनेर बलात्कार गरेका थिए। सुरेन्द्रले आफू निस्केका बेला बाहिरबाट ढोका बन्द गर्थे। त्यस्तै आफूलाई जबर्जस्ती बियर खुवाएको पनि बालिकाले जाहेरीमा उल्लेख गरेकी छन्।
भदौ ३ गते सुरेन्द्रले आफू कोरियन पढेर आउने भन्दै बाहिरबाट ताल्चा लगाएर गएकाे र ९ बजे फर्किएर फेरि ती किशोरीलाई बलात्कार गरेकाे जाहेरीमा उल्लेख छ। त्यसको केही समयपछि किशोरीलाई फुपूको घर पुर्याइदिन्छु भन्दै अटोरिक्सामा राखेर साँघुरो गल्लीमा किशोरीलाई ओरालेर आफू फरार भएकाे प्रहरीकाे भनाइ छ।
त्यसपछि बेवारिसे भएकी उनी बसपार्क गएर दैलेख जाने योजना बनाएर सडकमा हिंडिरहेको बेला चिनजानकी एक जना दिदी भेटिएकाे र दिदीले किशोरीको अवस्था नाजुक देखेपछि सोधीखोजी समेत गरिएकाे थियाे ।
किशोरीले शुरूमा एक्कासि आफू बिरामी भएको बताएकी थिइन्। आमाबुबालाई आफू सुर्खेत आएको कुरा जानकारी नदिने सर्तसहित किशोरी ती दिदीको घरमा गएकाे र १० दिनसम्म ती दिदीको घरमा बसेकी किशोरीले आफ्नो पीडा बताइनन् । ती दिदीले १० गते राति किशोरीका बुबालाई फोन गरेर किशोरीको अवस्थाबारे बताएपछि उनका बुवा यही भदौ ११ गते सुर्खेत आए।
१२ गते उनले आफ्ना बुवासामु अटो चालकले होटलमा लिएको कुरा मात्रै भनिन्। पछि महिला प्रहरीले परामर्श गरेपछि किशोरीले घटनाको पुरै विवरण सुनाएकी थिइन्। त्यसपछि प्रहरीले ती अटो चालकको खोजी गर्यो।
उनलाई प्रहरीले १३ गते वीरेन्द्रनगरकै यरीचोकबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले सुरेन्द्रविरुद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएर अदालतबाट ५ दिनको म्याद थप समेत गरिसकेको छ।

नेपाल कर्म । १६ भाद्र २०८०, शनिबार १५:०५