काठमाडौं । विश्वव्यापी रुपमा बढ्दै गएको एन्टिबायोटिक रेसिस्टेन्सको सम्भावित महामारी रोक्न नेपालले पनि “रातो धर्को” अभियान सुरु गरेको छ। उक्त अभियान आगामी ६ महिना देखि लागू हुने औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए।
हाल मौज्दात रहेका एन्टिबायोटिक औषधि आगामी ६ महिना भित्र बिक्री गरिसक्नु पर्ने छ । त्यस पछि “रातो धर्को” लगाएका एन्टिबायोटिक औषधि बजारमा देखा पर्नेछन्।
विभागले बताए अनुसार फार्मेसी र आम नागरिकलाई सुसूचित गराउन चेतावनी मूलक सन्देशका रुपमा यो “रातो धर्को” अभियान चलाइएको हो। सरकारले सुर्तिजन्य पदार्थको बट्टामा ९० प्रतिशत सन्देश मूलक चित्र छापे जस्तो एन्टिबायोटिक औषधिको बढ्दो दुरुपयोग रोक्न पनि सरकारले सन्देश मूलक रुपमा “रातो धर्को” अभियान चलाएको हो।

महानिर्देशक ढकालले एन्टिबायोटिक औषधिको जथाभावी हुने दुरुपयोग रोक्न कडीका रुपमा लिएको बताए।

विश्व स्वास्थ्य संगठन डब्लुएचओको ग्लोबल एक्सन प्लान अन्तर्गत यो अभियान सुरु भएको हो। महानिर्देशक ढकालको थालेको यो अभियान आम जनताको हितमा छ। उनको यो एउटा मात्रै निर्णय सही रुपमा कार्यान्वयनमा आए एन्टिबायोटिक रेसिस्टेन्सको कारण मृत्युवरण गर्ने नेपालीहरूको सङ्ख्यामा भारी गिरावट आउँने स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन्।

एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्न अहिले विश्वव्यापी अभियानहरू चलिरहेका छन्। नेपालमा भने केही ढिला भएको छ। नेपालले पनि पत्रकारहरूलाई सुसूचित गराउँने विषयमा विश्वका अन्य देशमा भन्दा धेरै प्रभावकारी काम गरेको छ। एन्टिबायोटिक रेसिस्टेन्सका बारे देशभरका ५ सय बढी पत्रकारलाई सुसूचित गराउँने काम सकिएको छ। उक्त कामलाई एएमआरमा काम गरेको विश्वका देशहरूले अन्य देशको तुलनामा ज्यादै उपलब्धीमूलक भएको बताएका छन्।
औषधि व्यवस्था विभागले सोही अभियानलाई निरन्तरता दिने हेतुले एन्टिबायोटिक औषधिमा “रातो धर्को” अभियान थालेको हो। नेपाले तयार पारेको नेशनल एक्सन प्लान पास हुने तयारीमा छ। उक्त एक्सन प्लानले पनि एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्न प्रेरित गरेको छ। “रातो धर्को” लगाएका एन्टिबायोटिक औषधि चिकित्सकको सिफारिसमा मात्रै बिक्री बितरण गर्न पाइन्छ।
विभागले समूह “ख” का एन्टिबायोटिक औषधिमा “रातो धर्को” लगाउने बताएको छ। ब्रान्डहरू धेरै भएकाले समूह “ख” मा कति एन्टिबायोटिक औषधि छन् भन्ने तथ्यांक विभागमा छैन्। महानिर्देशक ढकाल भन्छन् सबै एन्टिबायोटिक औषधि समूह “ख” मा छन्। कुनै एन्टिबायोटिक समूह “ग” मा गएको अवस्थामा “रातो धर्को” लगाउने काम हुदैन्।
यी समूहका औषधि सामान्य व्यक्तिले पनि दिन सक्ने खालका हुन्छन्। “रातो धर्को” अभियान सुरु गर्नुको मुख्य उद्देश्य भनेको भावी दिनमा चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक औषधिको बिक्री बितरण पूर्णरुपमा रोक्नु हो।

नेपाल कर्म । १६ भाद्र २०८०, शनिबार १३:२०