सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गतको सुर्खेत पूर्वी भाग धुलियाविट–भेडाबारी सडक एक वर्षमा कालोपत्रेको काम सकिने भएको छ। मदन भण्डारी राजमार्ग ट्रयाक खुलेको ४८ वर्षपछि कालोपत्रे हुने भएको हो।
२०३२ राजा वीरेन्द्र सुर्खेतमा आउँदा उनलाई देखाउनका लागि धुलियाविट–भेडाबारी सडक निर्माण थालिएको थियो। निर्माण थालिएको लामो सयमसम्म पनि स्तरउन्नतीको काम हुन सकेको थिएन्।


लामो समयदेखि रुख कटानको अनुमति नपाउँदा निर्माणको काममा अबरोध भएको अहिले रुख कटान र सडक स्तरउन्नती काम भइरहेको शनिबार सडकको अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले बताए।
‘सडक निर्माणले अहिले गति लिएको सुर्खेतको पूर्वी भागमा रहेको सडक एक वर्षमा निर्माण सकिन्छ।’ उनले भने,‘पश्चिम भागको राजमार्गले चाडै कामले गति लिनेछ।’
सडकको काम तिब्र रुपमा गर्न रुख कटानका लागि वन मन्त्रालयले अनुमति दिइसकेको अहिले रुख कटानको कामसँगै सडक निर्माणको काम तिब्र रुपमा गर्न मन्त्री ज्वालाले बताए। ‘यो सडक एक वर्षमा कालोपत्रेको काम पुरा हुने लक्ष्य राखिएको छ।’ उनले भने, ‘लक्ष्य अनुसार नै काम भइरहेकाले निर्माणको काम चाडै पुरा हुन्छ।’


मदन भण्डारी राजमार्गको सुर्र्खेत पूर्वीभागमा ३५ किलोमिटर रहेको अहिले पश्चिममा भागमा ९४ किलो मिटर रहेकोमा त्यहाँ ठेक्का लागेर काम अगाडी बढाइएको मदन भण्डारी राजमार्गका आयोजना प्रमुख शम्भुप्रसाद आचार्यले बताए। ‘धुलियाविटदेखि बोटेचौरसम्म ३५ किलोमिटरमा सडकको हाल करिब ४ मिटर मात्रै चौडाई रहेको छ।’ उनले भने, ‘अब ९ मिटर फर्मेसन ब्रिज रहने यो सडक स्तरोन्नत्ति गर्दा सात मिटर चौडाई बराबर कालोपत्रे गरिनेछ।’
१२ पुल बन्दै
मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा १२ पुल निर्माण हुने भएका छन्। पुल निर्माणका ठेक्का प्रक्रिया अगाडी बढेको र केहीमा पुल निर्माण भइसकेको आयोजनाका प्रमुख आचार्यले जानकारी दिए। ‘दुई वटा पुलको निर्माण कार्य सकिएको छ।’ उनले भने,‘अन्य पुलहरुको ठेक्का पक्रियामा गएर निर्माणका काम भइरहेको छ।’
राजमार्ग अन्तर्गतको धुलियाविट–भेडाबारी सडकको सुर्खेतको पूर्वीभागका वीरेन्द्रनगर नगरपालिका–११ र १३, लेकवेशी नगरपालिकाको १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिकाका १०, १२, १३ र १४ नम्बर वडा लाभान्वित हुनेछन्।
सुर्खेतबाट काठमाडौं जानसमेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ।

नेपाल कर्म । १६ भाद्र २०८०, शनिबार १२:५५