सुर्खेत । नेपालकै नीजि क्षेत्रको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले वीरेन्द्रनगरका सार्वजनिक स्थानमा फ्रि वाईफाई सेवा जडान गर्न लागेको छ । नागरिकहरुको सर्वाधिक चाप हुने क्षेत्र, धार्मिकस्थल र सार्वजनिक ठाउँहरुमा वर्ल्डलिंकले फ्रि वाइफाइ सेवा सञ्चालन गर्न लागेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगरमा पनि फ्रि वाईफाई सेवा शुरु गरिएको वर्ल्डलिंक कम्युनिकेशन सुर्खेत शाखाका प्रमुख कुमार आचार्यले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार परीक्षणका रुपमा यो सेवा यरिचोक र शहिद पार्कमा लागू गरिसकिएको छ ।


अबको एक महिनामा वीरेन्द्रनगरका काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै, पिपिरा चोक, बसपार्क, घण्टाघर लगायतका २५ स्थानमा फ्रि वाइफाइ सेवा जडान गरिसक्नेगरी काम द्रुतगतिमा भइरहेको आचार्य बताउँछन् ।
‘घरबाट बाहिर नागरिकहरु निस्किदा इन्टरनेट सम्बन्धी काम परेको खण्डमा मोबाइल डाटा प्रयोग गर्नुपर्ने बाध्यता छ,’ आचार्य भन्छन्, ‘सहज रुपमा नागरिकहरुलाई बजारका जुनसुकै क्षेत्रमा पुगेपनि फ्रिमा वाइफाइ सेवा चलाउन सक्नेगरी यो सेवा लागु गरिरहेका छौं ।’ कतिपय ठाउँमा नेटवर्क नहुने, डाटाको महंगो मूल्य हुने भएकाले पनि फ्रि वाईफाईले सहयोग पुग्ने विश्वास वर्ल्डलिंककाे छ ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा नागरिकहरुलाई सहज रुपमा इन्टरनेट प्रयोग गर्न कर्णाली मलको टपबाट वल्र्डलिंकको फ्रि वाइफाइ सेवा जडान गर्न लागेको छ । यसले बजार क्षेत्रको एक किलोमिटर दुरीसम्म कभर गर्नेछ ।
कसरी प्रयोग गर्ने वर्डलिंकको फ्रि वाईफाई ?

वर्ल्डलिंकको ‘एक्सप्रेस वाईफाई’ परियोजनाअन्तर्गतको फ्रि वाइफाइ जडान भएको स्थानमा दुई वटा एसएसआईडी हुन्छन् । फ्रि वर्ल्डलिंक वाईफाई र माई वर्ड लिंक वाईफाई मध्ये फ्रि वर्ल्डलिंक वाईफाई जो सुकैले प्रयोग गर्न पाउँछन् । उक्त एसएसआईडीमा कनेक्ट गर्न चाहँदा क्लिक गरेर केही सेकेन्डको विज्ञापन हेर्नुपर्छ । त्यसपछिे गेट अनलाइन अप्सनमा क्लिक गर्नुपर्छ ।
पहिलो पटक वर्डलिंकको फ्रि वाईफाई चलाइरहेको प्रयोगकर्ताले यहाँ एक पटक रजिस्टर गर्नुपर्छ । फोन नम्बरमार्फत रजिस्टर गर्न सकिन्छ । त्यसपछि फोनमा आउने ‘ओटिपी’लाई राखेर प्रयोगकर्ताले फ्रि वाईफाइ चलाउन पाउँछन् ।
पहिल्यै रजिस्टर गरेका प्रयोगकर्ताको खण्डमा उक्त अप्सनमा क्लिक गरेर आफूलाई प्राप्त भएको ओटीपिलाई राखि इन्टरनेट प्रयोग गर्न सकिन्छ । फ्रि वर्डलिंक वाईफाईबाट इन्टरनेट प्रयोग गर्दा लिमिटेड डाटा प्रयोग गर्न पाइन्छ ।
तर, माई वर्डलिंक वाईफाई एसएसआईडीमा कनेक्ट गरेर भने प्रयोगकर्ताले अनलिमिडेट डाटा प्रयोग गर्न पाउँछन् । यसका लागि भने पहिल्यैबाट वल्र्डलिंकको ग्राहक भएको हुनुपर्छ । वर्डलिंकका ग्राहक रहेका प्रयोगकर्ताले आफ्नो वर्डलिंक वाईफाईको अनलाइन युजरनेम र पासवर्ड राखेर कनेक्ट गर्नुपर्ने हुन्छ ।
फ्रि वाइफाइ सेवा कनेक्ट गर्दा नै कसरी ओटिपि पाउने भन्ने राखिएको छ । यसका लागि रजिस्टर्ड युजरले वाइफाइ लगइन कोड लेखेर ३५४६५ मा म्यासेज पठाएमा पुनः ओटिपि आउँछ । तर, यसका लागि रजिस्टर्ड भएको हुनुपर्छ ।

नेपाल कर्म । १५ भाद्र २०८०, शुक्रबार १७:१०