सुर्खेत । सुर्खेतमा रहेका बाणिज्य तथा लघु घरेलु उद्योगतर्फका फायलहरु स्थानीय तहरुलाई हस्तान्तरण गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा दर्ता भएर सञ्चालनमा रहेका दुवैतर्फका उद्योगहरुलाई नौ वटै स्थानीय तहलाई नै हस्तान्तरण गरिएको हो ।

सुर्खेतमा दुवैतर्फका उद्योगहरु ११ हजार ६७८ वटा छन् । यीमध्य बाणिज्यतर्फ ११ हजार ५७९ र लघु घरेलु उद्योगतर्फ ९९ वटा उद्योग सञ्चालनरत छन् । सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकामा छन् ।


वीरेन्द्रनगरमा बाणिज्यका सात हजार ७२० र उद्योगतर्फ ६१ वटा रहेका छन् । यस्तै, भेरीगंगा नगरपालिकामा एक हजार तीन, गुर्भाकोट नगरपालिकामा ९७१, लेकवेशी नगरपालिकमा ३६१, पञ्चपुरी नगरपालिकामा ४५६, सिम्ता गाउँपालिकामा ३२७, चिङ्गाड गाउँपालिकामा २५०, बराहताल गाउँपालिकामा २५२ चौकुने गाउँपालिकामा २७७ वटा बाणिज्य र लघु घरेलु उद्योग रहेका छन् ।
१० लाखसम्म बाणिज्य र तीन लाख स्थिर पूँजी भएका लघु घरेलु उद्योगहरु सम्बन्धित स्थानीय तहहरुले नै हेर्ने व्यवस्था भएपछि सबै फायल पालिकाहरुलाई हस्तान्तरण गरिएको निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिए । उनकाअनुसार पालिकाका प्रमुख वा अध्यक्ष एवम् उद्योग शाखाका प्रमुखहरुलाई फायलहरु दिइएको छ ।

नेपाल कर्म । १५ भाद्र २०८०, शुक्रबार १६:०५