सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन गरिँदै आएको नगर माइक्रो बसको भाडादर बढाइएको छ । नेपाल आयल निगमले डिजेलको मूल्य ह्वात्तै बढाएपछि साविकको भाडादरमा सेवा दिन नसकिने भएपछि बढाइएको हो ।

धुलियाविट–प्रदेश अस्पताल–बाँगेशीमल–धुलियाविट रुटमा गुड्दै आएका नगर माइक्रो बसले चढ्यो की झ¥यो २० रुपैयाँमा भाडादर लागु गरेर सेवा दिँदै आएका थिए । तर पछिल्लो १५ दिनमा तीन पटक डिजेलमा मूल्यवृद्धि गरेर १६९ रुपैयाँ प्रतिलिटर पुगेपछि संयुक्त यातायात व्यवसायी समितिले नगर भित्र चल्ने माइक्रो बसको भाडा ३० रुपैयाँ कायम गरेका छन् ।


‘पछिल्लो पटक लगातार तेलको मूल्यवृद्धिहुँदा २० रुपैयाँमै यात्रुहरुलाई सेवा दिन सकिने अवस्था रहेन,’ देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले नेपालकर्मसँग भने, ‘यसअघि दुई पटक बढेको मूल्यमा २० रुपैयाँमै यात्रुहरुलाई सेवा दिइरहेको हो । तर लगातार तेलको मूल्य बढ्दा १० रुपैयाँ बढाएर प्रतियात्री ३० रुपैयाँ लिने गरी भाडादर बढाइएको हो ।’
पछिल्लो पटक बढाइएको भाडादर शनिवारदेखि लागू गरिने उनले बताए । सरकारले तेलको मूल्य घटाएमा बढाइएको भाडादार पनि घटाउने यातायात व्यवसायीहरुले जानकारी दिएका छन् । वीरेन्द्रनगरमा दैनिक १४ वडा नगर माइक्रो बस सञ्चालन गरिँदै आएको छ ।

नेपाल कर्म । १५ भाद्र २०८०, शुक्रबार १५:२८