सुर्खेत । विपद व्यवस्थापन न्यूनिकरणका लागि निजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागिहरुको जोड रहेको छ। बुधवार सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रादेशिक विपद व्यवस्थापनमा निजि क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन्।

कर्णाली प्रदेश स्तरीय विपद जोखिम व्यवस्थापन सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले विपद व्यवस्थापनमा निजि क्षेत्रको सहयोग निरन्तर भइरहने बताए।

विपद व्यवस्थापन सबैको चासोको विषय रहेको र निजि क्षेत्रको भूमिका सह्रानीय रहेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले बताए।

कर्णाली प्रदेश स्तरमा विपद जोखिम व्यवस्थापनका कार्यक्रमहरुलाई योजनाबद्ध रुपमा अगाडि बढाइरहेको जानकारी दिए। विपद जोखिम न्यूनीकरणका प्रादेशिक नीति, रणनीति, कार्ययोजना र विपद जोखिम न्यूनीकरणको मूलप्रवाहीकरणका विषयमा प्रस्ट पारे।
युरोपियन युनियन, यूएन.डिपी, युनिसेफ ,यूएन ओमन र स्याक नेपालको आयोजनामा प्रादेशिक विपद व्यवस्थापनको अवस्था, विपद पुर्वतयारी तथा सरोकारवालाको मुख्य जिम्मेवारी तथा सहकार्यका विषयमा छलफल समेत गरिएको छ। भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ, खडेरी, हिमपहिरो जस्ता विपद बारम्बार आइरहने भएकाले निजीक्षेत्रले निर्माण गर्ने संरचनाहरुमा ध्यान दिनुपर्नेमा सरोकारवालाको जोड थियो।
अन्तरक्रिया कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि, विभिन्न मन्त्रालयका विषयगत शाखाका प्रमुख, रेडक्रसका प्रतिनिधि, निजी क्षेत्र, शैक्षिक क्षेत्रका बुद्धिजीवि लगाएतको सहभागिता थियो।

नेपाल कर्म । १४ भाद्र २०८०, बिहीबार ०९:५४