वीरेन्द्रनगरका सडकको वर्गीकरण गर्न शुरु

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका वीरेन्द्रनगरले सडकलाई गुणस्तरीय र प्रभावकारी बनाउन रोड अडिट गर्न लागेको छ । बढ्दो सवारी चाप, ट्राफिक व्यवस्थापनसँगै सडकको क्षमताभन्दा ठूला सवारीहरु मनलाग्दी ओहोरदोहोर गर्न थालेपछि नगरपालिकाले सडकको वर्गीकरण गर्न स्थलगत अध्ययन शुरु गरेको हो ।



नगर क्षेत्रमा रहेका सबै सडकहरु अबको दुई महिनामा वर्गीकरण गरिसक्ने नगर प्रमुख मोहनमाया ढकालले नेपालकर्मलाई जानकारी दिइन् । सडकहरुको अवस्था र भारवहान क्षमता धान्न सक्ने वा नसक्ने सडकहरुको वर्गीकरण गर्न रोड अडिट नगरपालिकाले शुरु गरेको हो । एशीयाली विकास बैंकको प्राविधिक सहयोगमा नगरपालिकाको साझेदारीमा असारसम्म काम सक्ने लक्ष्य रहेको ढकालको भनाई छ । ‘सम्भवत नेपालमै पहिलो पटक सडकको वर्गीकरण गर्ने पालिका वीरेन्द्रनगर बन्नेछ,’ ढकालले भनिन्, ‘विकासलाई दीगो बनाउन नगर क्षेत्रका सडकहरुलाई वर्गीकरण गरेर सोहीअनुसार सवारी आवागमनको व्यवस्था मिलाइनेछ ।’

वीरेन्द्रनगर भित्र हाल राष्ट्रिय राजमार्ग चार ओटा र अन्य सहायक मार्ग, शहरी सडक, रिङ रोड लगायतका सडकहरु छन् । यीमध्य एशीयाली बैंकले पहिलो चरणमा ७५ किलोमिटर सडकको वर्गीकरण गर्नेछ । बढी सवारीको चाप भएको र आवतजावतमा नागरिकहरुले प्रयोग गर्ने सडकलाई प्राथमिकता दिइएको छ ।

‘सडकको वर्गीकरणमा मुख्यगरी जेब्राक्रस, ट्राफिक लाइट (सडक वत्ती), आकाशे पुल कहाँ राख्दा उपयुक्त हुन्छ भन्ने स्पष्ट खुल्नेछ र विकास गर्नमा सहजता हुनेछ,’ नगर प्रमुख ढकालले भनिन्, ‘कुन सडकमा कस्ता भारवान भएका सवारी गुडाउँदा सडकले क्षमता धान्छ त्यसबारे पनि निक्र्यौल गरेर सवारी आवागमन मिलाउनमा सहयोग पुग्नेछ ।’ वीरेन्द्रनगरका सडकहरुको वर्गीकरणपछि सार्वजनिक सडकहरुको जग्गा कति छ भन्ने विवरण निकाल्नमा नगरपालिकालाई सहयोग पुग्नेछ । साथै, अस्तव्यस्त रहेको फुटपाथलाई पनि व्यवस्थित गर्नमा सडक वर्गीकरणले सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।

सार्वजनिक सडक ऐन २०३१ को परिच्छेद २ मा सार्वजनिक सडकको वर्गीकरण, सडक सीमा र प्राप्ती गर्न सकिने उल्लेख गरेको छ । ऐनको दफा ३ ख मा सडकको वर्गीकरणमा राष्ट्रिय लोकमार्ग, प्रदेश लोकमार्ग, स्थानीय सडक, ग्रामीण सडक, शहरी सडक, कृषि सडक र तोकिए बमोजिमका अन्य सडक उल्लेख छ ।

तपाईको प्रतिक्रिया