नेपालगञ्ज । यात्रु लिएर गुल्मीबाट काठमाडौंको लागि छुटेको स्कार्पियो पाल्पामा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ। बुधबार लु १ ज ४६०० नम्बरको स्कार्पिओ जिप पहिरोमा पुरिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा बिहान सवा ८ बजे जिपमाथि पहिरो खसेको हो। घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

डीएसपी थापाले भने, ‘दुर्घटना ३ जनाको मृत्यु र सात जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। घाइतेलाई उपचारको लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ।’
दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीका सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा र गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला सुदारा छन्।

अर्का एकजना मृतक पुरुषको सनाखत हुन बाँकी रहेको डीएसपी थापाले जानकारी दिए।
दुर्घटनापछि प्रहरीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याएको थियो। घाइतेमध्ये एकजना बालक छन्।
दुर्घटनामा परी घाइते हुनेमा जीप चालक बालकृष्ण श्रेष्ठ, सुष्मा राना घर्ती, ६ वर्षीया बालिका सुरबी घर्ती, ५ महिनाकी शिवा घर्ती, २७ वर्षीया स्कृति थापा, ५ वर्षीया सुष्मा थापा, शोभा घर्तीमगर र टेकबहादुर घर्तीमगर रहेका प्रहरीले जनाएको छ।
सडकमा गुडिरहेको स्कार्पियोमाथि ठूला ढुंगासहितको पहिरो खस्दा दुर्घटना भएको हो।

नेपाल कर्म । १३ भाद्र २०८०, बुधबार ११:४९