सुर्खेत । आर्थिक अनुशासन कर्णाली प्रदेशबाट अरुले सिक्नेगरी काम गर्नुपर्ने आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताएका छन्। कर्णाली प्रदेशलाई आर्थिक अनुशासनमा नबाँधिएको प्रदेश हो कि भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसलाई चिर्न खासगरी लेखा समूहका कर्मचारी चनाखो हुनुपर्ने र त्यसतर्फ लाग्नुपर्ने बताएका हुन् ।

मन्त्रालयमा आयोजित प्रदेश लेखा इकाईहरूको आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी प्रदेश लेखा इकाईका प्रमुख एवं प्रतिनिधि कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्री सिंहले अरुले हाम्रो कामबाट सिक्नेगरी काम गर्नुपर्ने बताए ।
उनले दुर्गम क्षेत्रमा रहेर काम गर्ने राष्ट्रसेवक कर्मचारीहरूलाई सेवा प्रवाहमा कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालय लाग्ने प्रतिबद्धता जनाए। दुर्गममा कार्यरत कर्मचारीहरूले पेलिएर गएको अनुभूति नगर्न मन्त्री सिंहको आग्रह छ । कर्मचारीहरूको सरुवालाई न्यायोचित बनाउनेगरि सरकार लाग्ने पनि मन्त्री सिंहको प्रतिबद्धता छ ।

कार्यक्रममा मन्त्री सिंहले संघ सरकारबाट विभिन्न शीर्षकमा प्रदेशलाई प्राप्त रकम फिर्ता नजानेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । वित्तीय र आर्थिक अनुशासन कायम गर्ने शैली अपनाउन मन्त्री सिंहको आग्रह छ।
‘हामीमाथि प्रश्न नउठ्नेगरी काम गर्नुपर्छ । असोज र कार्तिकभित्र बजेट कार्यान्वयनको प्रक्रिया अघि बढाइसक्नुपर्नेछु, मन्त्री सिंहले भने, ‘जनताले आर्थिक अनुशासनमा सुधार भएको अनुभूति हुने गरि काम गर्नुहोला । संघ सरकारकाट प्राप्त रकमलाई फिर्ता नजानेगरि काम गर्नुहोला ।’

सरकार जनताप्रति उत्तरदायी छ भन्ने महसुस गराउने जिम्मा राष्ट्रसेवक कर्मचारीकै बढी हुने भएकाले आफ्नो जिम्मेवारी र सरकारको भरोसालाई बुझेर काम गर्नुपर्ने मन्त्री सिंहको भनाइ छ ।
मन्त्री सिंहले सरकारले यसअघि सदनमा जनाएको प्रतिबद्धता अनुसार कडाईका साथ बजेट कार्यान्वयनको काम गर्ने बताउँदै त्यही अनुसार तयारी गर्न प्रदेश लेखा इकाईहरूलाई निर्देशन दिए।
समीक्षा कार्यक्रममा प्रदेश लेखा इकाई कार्यालयका प्रमुखहरूले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रगती विवरण, जिल्लाको समग्र खर्च स्थिति, बजेट तथा कार्यक्रम कार्यान्वयन र निकासाका विषयमा रहेका समस्या र समाधानका विकल्पबारे धारणा राखेका थिए । उनीहरूले केही जिल्लामा प्रदेश लेखा इकाईको भवन नहुँदा समस्या भएको, सवारी साधन नहुँदा समस्या भएको लगायतका विषयलाई पनि जोड दिएका थिए ।

नेपाल कर्म । १२ भाद्र २०८०, मंगलवार १६:५७