सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो प्रदेश अधिवेशन आगामि असोज १० र ११ गते हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने उक्त अधिवेशनमा पदाधिकारीका लागि चर्चा हुन थालेको छ।
अधिवेशन आउन करिब १ महिना बाँकी रहदा नेताहरुले पदाधिकारीमा आउनका लागि मन पर्ने पार्टीका शिर्ष नेताहरूसँग निकट्ता बढाउनका लागि भेटघाटमा खटिएका छन्। केही नेताहरू त असार/साउन महिनादेखि नै केन्द्रीय पार्टी कार्यालयल धाइरहेका छन्।


प्रदेश अध्यक्षका लागि पोलिटब्युरो सरहको व्यक्ति हुनुपर्ने पार्टी केन्द्रीय सचिवालयको बैठकको निर्णयअनुसार कर्णालीबाट केन्द्रीय कमिटीमा रहेका नेताहरु पनि प्रदेश अध्यक्षमा आउने प्रवल चाहाना देखाएका छन्।
कर्णाली प्रदेशबाट पार्टीको पोलिटब्युरो सदस्यमा चार जना सदस्य रहेका छन्। ती हुन्, मोहन बानियाँ, लक्ष्मीप्रसाद पोखरेल, गुलावजंग शाह र भैरवसुन्दर श्रेष्ठ।
यी चार जना अध्यक्षका लागि बलिया नेताका रुपमा देखिन्छन्। तर, उनिहरुले मुख भने खोलेका छैनन्। यी चार जना पोलिटब्युरो सदस्य मध्ये गुवालजंग शाह र लक्ष्मीप्रसाद पोखरेल अध्यक्ष पदका लागि आन्तरिक रुपमा इच्छा देखाएको पनि चर्चा हुने गरेको छ।

यस्तै, पोलिटब्युरो सदस्यहरुको मात्रै चाहना नभइ केही केन्द्रीय सदस्यहरुको पनि प्रदेश अध्यक्षका लागि चर्चा भएको छ। जसमा नवराज रावत, विष्णु रिजाज, निरज आचार्य, नगेन्द्र शाही रहेका छन्।
अध्यक्षका लागि लालबहादुर महतारा, प्रदेश कमिटी सदस्य धुर्बकुमार शाही, डण्डीप्रसाद शर्मा, मीनबहादुर शाही, रविन्द्रराज शर्मा, राजबहादुर शाहीको नाम पनि चर्चामा रहेको छ।
यस्तै, सचिवका लागि पनि उतिकै नेताहरुको लर्को रहेको छ। जसमा रुद्रबहादुर शााही, टेकेन्द्र बस्नेत, ताराकेशर गौतम, पदमा खडका, तोरण विक र गगन सिङ सुनारको नाम चर्चामा रहेको छ।
प्रदेश अधिवेशन नजिकिएसँगै सुर्खेतस्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुको चहलपहलसमेत बढेको छ। तर, प्रतिनिधि छनोटको मापदण्ड तयार गर्न बाँकी रहेको छ।
एमाले कर्णाली प्रदेशका अनुसार कर्णालीमा ४९ हजारभन्दा माथि पार्टी सदस्य रहेकाले अधिवेशनका लागि पाँच सय भन्दा बढी प्रतिनिधि छनोट गरिने छ। हाल कर्णाली प्रदेशका १० वटै जिल्लामा पार्टी सदस्यता नवीकरणको काम सम्पन्न भइसकेको छ। सोहीअनुसार प्रतिनिधि छनौटका लागि एमालेले तयारी थालिरहेको छ।

नेपाल कर्म । ११ भाद्र २०८०, सोमबार १४:१९