एजेन्सी । जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (५ वर्ष)का लागि पुनः निर्वाचित भएको जिम्बाबे निर्वाचन आयोग (जेडइसी) ले शनिबार घोषणा गरेको हो।
जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३—२४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गरेको बताए।
उनले भने, ‘अब म जिम्बाबे निर्वाचन आयोगको अध्यक्ष प्रिस्किला मकान्यारा चिगुम्बा, धारा ११० को उपदफा ३ को शर्तमा यो घोषणा गर्दछु कि ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोले २३ लाख ५० हजार ७११ मत प्राप्त गर्नुभएको छ। जुन राष्ट्रपतिमा खसेको वैध मतको आधा भन्दा बढी हो। त्यसैले ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोलाई अगस्ट २६, २०२३ देखि लागू हुनेगरी जिम्बाबे गणतन्त्रको विधिवत राष्ट्रपति घोषित गरिएको छ।’

मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको चिगुम्बाले बताए।

जिम्बाबेको कानूनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ। जिम्बाबेका जनताले बुधबार र बिहीवार नयाँ राष्ट्रपति, संसदका सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए।
जेडइसीका अनुसार मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ।

नेपाल कर्म । ११ भाद्र २०८०, सोमबार ०७:४४