मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएकोप्रति चिन्ता व्यक्त

सुर्खेत । मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको प्रति सरोकारवाला निकायहरुले चिन्ता व्यक्त गरेका छन् । समाजमा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको तर समाजले समस्यालाई बुझ्न नसकेको कर्णालीका सरोकारवालाहरुले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति बजेट तथा कार्यक्रममा मानसिक स्वास्थ्यको मुलप्रवाहिकरण सम्बन्धी अन्तरक्रियामा सहभागिहरुले सरकारले यसबारे उचित सम्बोधन नगरेको गुनासो समेत गरेका छन् ।



 सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जवारलाल हमालको अध्यक्षतामा भएको कार्यक्रममा तीनै तहका सरकारले मानसिक स्वास्थ्य समस्याको सवालमा चासो नदिईएको सहभागिहरुको गुनासो छ । मानसिक स्वास्थ्यको सवाल भयावह हुँदासमेत सरकारबाट ठोस पहल नपुगेको बताइएको हो । जसले आत्महत्याको दर बढेको भएपनि यो सवाललाई गम्भीरता पूर्वक नलिएको पाईएको छ ।

कार्यक्रममा मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका निर्देशक लोकनाथ वास्तोलाले मानसिक स्वास्थ्यको समस्याप्रति सरकार नै बढि जिम्मेवार हुनुपर्ने बताए । स्वास्थ्य आपूर्ती केन्द्रका निर्देशक डा. शक्ति सुवेदीले सरकारी संयन्त्रहरुबीच समन्वयमा कमी हुँदा मानसिक स्वास्थ्य समस्या झेलिरहेका व्यक्तिहरुको लागि चाहिने औषधी व्यवस्थापनमा समस्या भईरहेको बताए ।

मानव सेवा आश्रम संयोजक श्रृजना ओलीले मानसिक स्वास्थ्य समस्याका बिरामीहरुलाई पहिलो चरणमै पहिचान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताइन् । आश्रममा सडकमा बेसाहारा बनेका व्यक्तिहरुलाई सेवा दिईने भएपनि हाल जटिल प्रकारको मानसिक स्वास्थ्य समस्या झेलिरहको व्यक्तिहरु रहेको बताइन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयकी शाखा अधिकृत ज्ञानु चौलागाईले विकास भन्ने बित्तिकै भौतिक पूर्वाधार विकास मात्रै हो भन्ने मानसिकताका कारण मानसिक स्वास्थ्य समस्या जस्ता सामाजिक सवालहरु सरकारको प्राथमिकतामा पर्न नसकेको बताइन् । उनले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा मानसिक स्वास्थ्य समस्याको सवाललाई समेट्न पहल गर्ने प्रतिबद्धता जनाईन् ।

तपाईको प्रतिक्रिया