शिव शिखर सहकारीले गर्‍यो १४ अर्ब हिनामिना, सञ्चालककी श्रीमतीलाई अढाई करोडको कार

काठमाडाैं । महाराजगन्जस्थित राष्ट्रपति कार्यालयछेउमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को कार्यालयमा केही दिनयता सर्वसाधारणको घुइँचो छ । न्याय माग्न प्रहरी कार्यालय धाउनेको भिड यति ठूलो छ कि उनीहरूको व्यवस्थापनका लागि प्रहरीले टोकन सिस्टम नै लागू गर्नुपरेको छ । सिआइबीमा लागेको भिड शिव शिखर सहकारीका निक्षेपकर्ताको हो ।



‘उहाँहरू सबै शिव शिखर सहकारीका निक्षेपकर्ता हुनुहुन्छ,’ भिडतर्फ देखाउँदै शुक्रबार सिआइबीका एसपी नवराज अधिकारीले भने, ‘सहकारीले आफ्नो पैसा फिर्ता गर्न नसकेपछि ठगीको जाहेरी लिएर आउनुभएको हो । पालैपालो जाहेरी लेखाउनका लागि नाम टिपेर टोकन सिस्टम लागू गरेका छौँ ।’

सिआइबीमा एक दिनमा दुई–तीन सय निक्षेपकर्ता जाहेरी लिएर पुग्ने गरेका छन् । हालसम्म भक्तपुरका मात्रै निक्षेपकर्ताले २० करोड रुपैयाँभन्दा धेरै ठगीको जाहेरी दिइसकेका छन् । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय भई देशभरि २६ वटा शाखा कार्यालय तथा सेवा केन्द्र चलाउँदै आएको शिव शिखर सहकारीमा करिब १४ अर्ब रुपैयाँ हिनामिना भएको प्रहरी आकलन छ । नेपालमा सहकारी ठगीको यो अहिलेसम्मकै ठूलो घटना हो । यसअघि सिआइबीले नै सिभिल सहकारीमा करिब ६ अर्ब हिनामिनाको मुद्दा चलाएको थियो । शिव शिखरमा एक लाख सदस्य ठगिएको सिआइबीको आकलन छ ।

सहकारीका तीनजनालाई पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ । संस्थाका सञ्चालकद्वय अमिसराज भण्डारी र पुष्कर मल्ल तथा सहकारीको मुख्य ऋण लगानी रहेको शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मालाई सिआइबीले पक्राउ गरेको हो ।

‘सहकारीको शाखा देशभरि रहेछ, सम्भवतः सहकारीको ठगीमा यो अहिलेसम्मकै ठूलो केस हो,’ सिआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘एक लाखभन्दा धेरै सेयर सदस्यको रकम संस्थामा डुबेको आकलन छ । दिनदिनै जाहेरी थपिएका छन् ।’ प्रहरीले पहिलो चरणमा भक्तपुरका ग्राहकको मात्र जाहेरी लिएर भक्तपुर जिल्ला अदालतमा ठगी मुद्दा चलाउने तयारी गरेको छ । कौशलटारको केन्द्रीय कार्यालयसहित भक्तपुरको कमलविनायक, सल्लाघारीमा सहकारीको सेवा केन्द्र छन् । हाल ती सबै बन्द छन् ।

शिव शिखर सहकारीका भक्तपुरबाहेक उपत्यकाभित्र काठमाडौंमा चार र ललितपुरमा दुई शाखा छन् । काठमाडौंको न्युरोड, कीर्तिपुर, बाँसबारी र बागबजार तथा ललितपुरको मंगलबजार र ठैबमा शाखा कार्यालय रहेकोमा सबै अहिले बन्द छन् । भक्तपुरको मुद्दा दर्तापछि काठमाडौं र ललितपुरमा अनुसन्धान गर्ने सिआइबीको तयारी छ । उपत्यकाबाहिर जिल्लाका शाखाको हकमा भने सम्बन्धित जिल्लाका प्रहरी कार्यालयबाटै अनुसन्धान गर्न सिआइबीले पत्राचार गरिसकेको छ । जसअनुसार सम्बन्धित जिल्लामै अनुसन्धान भइरहेको छ ।

चितवनको भरतपुर र टाँडी, बाँकेको नेपालगन्ज, कोहलपुर र बैजनाथ, कैलालीको धनगढी र अत्तरिया, डडेल्धुरा, दाङको तुलसीपुर र भालुवाङ, मकवानपुरको हेटौँडा, सुर्खेतको वीरेन्द्रनगर, बाग्लुङको श्रीनगर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, रुपन्देहीको बुटवल, डोटीको दिपायलमा शाखा तथा सेवाकेन्द्र सञ्चालित छन् । त्यसमा हाल दुई–तीनवटा मात्र शाखा सञ्चालनमा छन् । अरूले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि बन्द गरेका छन् ।

शिखर अर्गनाइजेसनमार्फत शर्मादम्पतीले आफ्नो नाममा दर्ता गरिएका तीन दर्जन कम्पनी स्थापना गरी सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । सो अर्गनाइजेनअन्तर्गत शिव शिखर खाद्य उद्योग, शिखरदीप फुड इन्ड्रस्ट्रिज, गोरखा टी एन्ड कफी, गोरखा वेभरेज, तुलसी मोटर पम्प, त्रिवेणी आयल एन्ड फ्लोर, शिखरदीप एग्रो, शिव शिखर एग्रो, नटराज एग्रो कम्पनी सञ्चालन गरेका थिए । त्यस्तै, गार्डेन मार्ट, टेक्नो डाउन, शिव शिखर एग्रो अनुसन्धान केन्द्र, नेपा शिखर अर्गनाइजेसन, न्यु गोल्डेन, एभरेस्ट, शिखर इलेक्ट्रोनिक्स एन्ड अटोमोबाइल्स, उपकार गार्मेन्ट, शिव शिखर खाद्य उद्योग, आधुनिक शिवशक्ति कृषि अनुसन्धान केन्द्र, डिजिटल शिखर प्रालि, हिमालयन लायन कन्स्ट्रक्सन एन्ड मल्टी सोलुसन प्रालि, काइन्डल्ली केयर इन्ड्रस्ट्री, शिव शिखर इन्भेस्टमेन्ट, उपकार हाइड्रो इन्ड इनर्जी, उपकार मिडिया, उपकार आयल इन्ड्रस्टिज र तुलसी एग्रो सञ्चालन गरिएको थियो । यीमध्ये केही बन्द भइसकेका छन् भने केही सञ्चालनमा छन् ।

सो संस्थाका विभिन्न ठाउँमा घरजग्गा पनि छन् । शर्मादम्पतीको नाममा कम्पनीमा पनि करोडौँको सम्पत्ति छ । त्यसलाई पनि रोक्का गरिएको छ । सहकारीका नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा हुन् । सहकारीको पैसा आफ्ना कम्पनीमा लगानी गरेर शर्मादम्पतीले त्यसको दुरुपयोग गरेका थिए । त्यसबाट उनीहरूले आफ्ना निजी सम्पत्ति जोडेका थिए । केदारनाथकी श्रीमती गीता शर्माले साढे दुई करोड रुपैयाँ पर्ने टोयटाको फर्चुनर गाडी खरिद गरेकी थिइन् । सो गाडी सिआइबीले बरामद गरिसकेको छ । उनीहरूको नाममा रहेको अन्य सम्पत्ति पनि सहकारी विभागले यसअघि नै रोक्का राखिसकेको छ । नयाँपत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया