काठमाडाैं । झन्डै चार महिनाअघि मौसमविद्हरूले नेपालमा यो वर्ष बर्खायाममा सरदरभन्दा कम पानी पर्न सक्ने अनुमान गरेका थिए। त्यतिबेला मनसुन नै “सुक्खा” हुन्छ कि भन्ने डर पनि व्यक्त भएको थियो।

जेठको अन्तिम साता नेपालमा मनसुन भित्रियो। त्यसयता पटकपटक झरी परिरहेको छ। नदीनजिक बसोबास बासिन्दालाई बारम्बार मोबाइल वा इन्टरनेटबाट सम्भावित भलबाढीबारे सूचना दिन सन्देश पठाइएको छ।

त्यसका अतिरिक्त विभिन्न स्थानमा बाढी र पहिरोले धनजनको क्षति भएको छ। बर्खाका कारण हवाई र सडक यात्रादेखि कृषि गतिविधि पनि प्रभावित भएका छन्।
यो मनसुनमा नेपालभरि कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको थियो। सरदरभन्दा कम पानी पर्ने भएकोले यसपालिको न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान थियो।
जनजीवन नै प्रभावित पार्ने यो झरी मौसमविद्हरूले भनेझैँ सरदरभन्दा बढी हो कि घटी त? नेपालमा मनसुन मध्यजुनमा (जेठ अन्तिमतिर) प्रवेश गरेर अक्टोबरको पहिलो साता (मध्यअसोज) तिर बाहिरिन्छ।
यस अवधिमा सरदर १,४७२ मिलिमिटर वर्षा हुने गरेको तथ्याङ्कले देखाउँछ। त्योभन्दा १० प्रतिशत बढी वा घटी वर्षा हुनुलाई औसत मानिन्छ। तोकिएभन्दा १० प्रतिशतभन्दा कम पानी पर्यो भने त्यसलाई “ड्राई” अर्थात् “सुक्खा” मनसुन भन्न सकिने मौसमविद् राजु प्रधानाङ्ग बताउँछन्।
यस वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म कुल ९९७ मिलिमिटर वर्षा भएको छ। उनका अनुसार मनसुन अझै दुई महिना कायम रहने भएकाले तत्काल “यो वर्षको बर्खायाम सुक्खा रह्यो या रहेन” भन्न मिल्दैन।
“अक्टोबर २ (असोज १५) सम्म मनसुन रहन्छ। त्यति बेलासम्म पर्ने पानीलाई विश्लेषण गरेपछि मात्र हामी निष्कर्षमा पुग्न सक्छौँ ,” उनले भने। यद्यपि विगतका वर्षहरूको तथ्याङ्क तुलना गर्दा यस वर्ष जुलाई र अगस्टभरि जति पानी पर्नुपर्ने हो त्यति नपरेको जानकारी उनले दिए।

मौसममा यस किसिमको परिवर्तन नेपालमा मात्र देखा परेको हैन। युरोपका विभिन्न देशमा उष्णलहर, अमेरिका तथा क्यानडाको विभिन्न क्षेत्रमा डढेलो, चिसा ठाउँहरूमा चरम गर्मीको समस्या उत्पन्न भएको छ। तिनको विश्लेषण गरेका विज्ञहरूले यसलाई जलवायु परिवर्तनको प्रभाव मानेका छन्।
डेढ साताअघि हिमालीपारि अवस्थित मुस्ताङ जिल्लाको कागबेनीमा आएको बाढीलाई पनि जलवायु परिवर्तनसँग हेर्न सकिने मौसमविद् प्रधानाङ्गको धारणा छ। “मनसुनमा झरी पर्नु स्वाभाविक हो। तर मुस्ताङको बाढी नियमित बर्खामात्र नभई जलवायु परिवर्तनसँग सम्बन्धित छ। बढ्दो तापमानका कारण वायुमण्डलमा आर्द्रता थेग्ने क्षमता बढी हुन्छ। त्यस्तो अवस्थामा वर्षा भयो भने पानीको मात्रा पनि अधिक हुन्छ,” उनले भने।
चरणबद्ध नियमित पानी परिरहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि जोड दिइरहेको अधिकारीहरूले बताएका छन्।
मौसममा कहिले सुधार आउला?
अहिले नेपालका विभिन्न स्थानमा केही दिनदेखि निरन्तर पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखाका कारण त्यसो भएको हो। उक्त रेखा आफ्नो स्वाभाविक स्थानभन्दा उत्तरतिर छ।
मौसमविद्हरूका अनुसार भारतको उत्तर प्रदेशको पश्चिमोत्तर क्षेत्रमा अवस्थित न्यून चापीय प्रणाली पनि नेपालतर्फ सर्दै आइरहेको छ। “यस्तो प्रणाली नेपालनजिकै आउँदा मौसम बदली हुन्छ र पानी पर्छ। यो अवस्था केही स्थानमा शुक्रवारसम्म रहने र मध्य तथा पूर्वी भूभागमा शनिवार दिउँसोसम्म रहेर कम हुँदै जाने देखिन्छ,” प्रधानाङ्गले भने।
कुनै पनि बाह्य प्रणाली कम हुनुको अर्थ पानी नै नपर्ने भन्ने चाहिँ होइन। बरु अहिलेको चरणमा देखिएको बदली र वर्षा कम हुने विज्ञहरू बताउँछन्। यो शृङ्खला अक्टोबर पहिलो सातासम्म जारी रहन्छ। “मनसुनभरि बारम्बार चरणबद्ध रूपमा पानी पर्छ र यो क्रम अहिले नै रोकिँदैन,” उनले भने।

बीबीसी बीबीसी । ८ भाद्र २०८०, शुक्रबार ०९:५५