सुर्खेत । वीरेन्द्रनगरको यरिचोकमा एक युवालाई कुटेको भिडियो केहिदिन यता सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न दुई जनालाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कालिकोट मान्मका सुनिल तिरुवा र रमेश तिरुवा छन्। उनीहरु दुवै जना २२ र २४ वर्षका युवा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले नेपालकर्मलाई जानकारी दिए।
‘आइतबार यरिचोकमा ग्याङ फाइट जस्तो देखिने खालको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो,’ प्रवक्ता शाहीले नेपालकर्मसँग भने, ‘हामीले भिडियो बाहिरिएपछि घटनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेकै बेला पीडितले उजूरी दिएपछि थप सहज बनायो। घटनामा सलग्न दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान थालेका छौं।’

के हो घटना ?
यहीँ भदौ ३ गते आइतबार साँझ यरिचोक नजिकै युवाहरुबीच हानाहान भएको भिडियो सामाजिक सञ्जालमा बाहिरियो। भिडियोमा दुई जना युवाले एक जना युवालाई कुटेर लखेटेको प्रष्ट देखिन्छ।
यद्यपी भिडियोमा ग्याङ फाइट जस्तो देखिएपनि घटनाको वास्तविकता भने फरक छ। कुटाइ खाने युवा वीरेन्द्रनगरकै हुन्। १७ वर्षीय उनी १२ कक्षामा अध्ययनरत छन्।

पक्राउ परेका युवाहरुले एक महिना अघि मात्रै वीरेन्द्रनगरका १७ वर्षीय उनै पीडित युवालाई वीरेन्द्रगर कै एक होटलमा बोलाएर मोबाइल र नगद नौ हजारसहित पर्स चोरेका थिए।
‘आफ्नो समान लगेपछि फिर्ता दिन बारम्बार आग्रह गरे, कहिले कहाँ छु, कहिले बाहिर छु भनेर भुलाउने गरे,’ पीडित युवाले नेपालकर्मसँग भने, ‘मोबाइल र पर्स फिर्ता गर्न बारम्बार आग्रह गरेपछि नमान्दा भाग्न खोजिरहेको बेला एक महिना अगाडी बाँगेशीमलबाट उनीहरुलाई फिर्ता गराए। तर सामान फिर्ता दिएनन्।’
आफ्नो सामान दिलाइ दिन जति आग्रह गरेपनि नदिँदा थप पीडा भएको उनी बताउँछन्। उनले अति भएपछि प्रहरीलाई उजूरी गर्ने चेतावनी दिँदा पनि नमानेपछि आफू कुटिएको बताए।
उनले भने, ‘घटना भएको दिन दुवै जनाले यरिचोक बोलाएर कुटेको हुन्। शुरुमा उनीहरुले म माथि आक्रमण गरेपछि मैले पनि धकलेको थिए। तर, उनीहरुले झोलाबाट नक र च्यान निकालेर हाने, म भुँइमा ढाले । फेरी हान्न आएपछि त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएँ।’
यस्तै, घटनापछि मिलाइदिन बारम्बार दवाव दिएर थप पीडा दिने गरेको उनको भनाई छ। ‘त्यो घटनापछि सामाजिक रुपमा नराम्रो बनाएको छ। राम्रोसँग स्कुल पनि जान नि सकिरहेको छैन्,’ पीडित युवाले भने, ‘प्रहरीमा उजूरी दिएको छु। उनीहरु पनि पक्राउ परेका छन्। अब न्याय पाउनेमा ढुक्क छु।’

सुशील खड्का । ७ भाद्र २०८०, बिहीबार १७:५६