सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कार्यक्षेत्र रहेका केन्द्रीय कमिटीका सदस्यहरुले विभिन्न सात बुँदे प्रतिबद्धता जाहेर गरेका छन्। सुर्खेतको वीरेन्द्रनगरमा भदौ ५ र ६ गते बसेको उक्त बैठकले सात बुँदे प्रतिबद्धता जाहेर गरेको हो।
बैठकका केन्द्रीय सदस्यहरुले कर्णाली प्रदेशमा जनमतका हिसाबले एमाले पहिलो पार्टीका रुपमा स्थापित भएता पनि अप्राकृतिक गठबन्धन, सत्ताको दुरुपयोग जस्ता कुराले गत निर्वाचनमा प्रत्यक्षतर्फ सोचे अनुरुप परिणाम आउन नसकेको परिस्थितिलाई हृदयंगमगर्दै प्रतिकूलताहरुलाई अनुकूलतमा परिणत गर्दै आगामी सबै निर्वाचनहरुमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रुपमा स्थापित गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।


यस्तै, पार्टीमा विभिन्न घटनाक्रमहरुका सन्दर्भमा स्वाभाविक रुपमा देखा पर्ने अन्तरविरोधहरुलाई समाधान गर्दै आपसी सद्भाव, हार्दिकता र एकताका आधारमा अघि बढ्ने, दशौँ राष्ट्रिय महाधिवेशनले पहिचान गरेका दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता आन्दोलनको प्रमुख समस्या पार्टीमा रहेको र त्यसैमा कर्णालीको भौगोलिक विकटता, सामाजिक संरचना, आर्थिक अवस्था जस्ता कुराले थप मलजल गर्ने अवस्था भएकाले सबै नेता, कार्यकर्ता, कमिटी र जनसंगठनहरुलाई यसप्रति विशेष रुपमा सचेत बनाउँदै एमालेलाई बैचारिक, राजनीतिक, शैलीगत, विकास निर्माण जस्ता सबै विषयमा विशिष्ट र उदाहरणीय बनाउनका लागि हामी अठोट गर्ने प्रतिबद्धता केन्द्रीय सदस्यहरुको रहेको छ।
यस्तै, एमालले कर्णालीका जनताले बलिदानबाट कर्णाली प्रदेश स्थापना गरेको सात बर्ष बितेर प्रदेश स्थापना हुँदै गर्दा कर्णालीका जनताले आफ्नो गाउँ–ठाउँको सरकारले हाम्रा दुःख केहीहदसम्म भए पनि निवारण गर्ला भनेर गरेको आशायस बीचमा पूर्णतः निराशामा परिणत भएको र सुरुदेखि गलत शक्तिको हातमा नेतृत्व पुग्दा कर्णाली प्रदेश सबै सूचाकांकहरुमा पछाडिबाट एक नम्बरमा रहनुपर्ने दुखद् यथार्थ रहेको बताएको छ।

प्रदेश सरकारमा पनि स्वेच्छाचारी, कार्यकर्ता पोस्ने, बजेट दुरुपयोग गर्ने, बिनियोजित बजेट ठोस योजनामा खर्च गर्न नसक्ने, राजनीतिक पूर्वाग्रहका आधारमा योजना छान्ने, ती योजनाहरुलाई कागजी प्रक्रिया मिलाएर दुरुपयोग गर्ने जस्ता गलत प्रवृत्तिका विरुद्धमा प्रदेशसभा भित्र विशेष रुपमा प्रतिवाद गर्न आवश्यक र कर्णालीका जनताको विकासको चाहनालाई कुठाराघात गर्नका लागि प्रदेशसभा भित्र तथा बाहिर जोडदार रुपमा आवाज उठाउन हामी आह्वान गर्ने एमालेले प्रतिबद्धतामा उल्लेख गरेको छ।
एमालेले कर्णालीको शक्ति सन्तुलनको अवस्थालाई बदल्नका लागि पार्टी नेतृत्वमा कर्णालीको प्रभावकारी उपस्थिति र कर्णालीका जनतालाई विश्वासिलो नेतृत्वको आधार निर्माण लागि सबै एक मतहुँदै आ–आफ्नो ठाउँबाट आफ्नो योग्यता, क्षमता र जिम्मेवारी अनुरुप योगदान गर्न हामी प्रतिबद्ध पनि केन्द्रीय सदस्यहरुले जनाएका छन्।
यस्तै, कर्णालीमा खाद्य संकट, बाढीपहिरोका कारण बाटोघाटो प्रभावित, हवाई सेवा विश्वासिलो नभएको र महंगो, लम्पी स्किनका कारण पशुहरुको क्षति तर, क्षतिपूर्तिको व्यवस्था नभएको, विजुली–बत्तीको कुनै ठेगान नभएको, ट्रान्समिसन लाइन राम्रो नभएको, सुर्खेत विमानस्थल विस्तार हुन सकेको लगायतका विषयहरुप्रति गम्भीर चिन्ता प्रकट गर्दै जनताको जीवनयापनलाई सहजता दिन जोडदार आग्रह गरेका छन्।
साथै केन्द्रीय सदस्यहरुको बैठकले कर्णालीमा हालसम्म कुनै मेघा परियोजना सञ्चालित नभएको, माथिल्लो कर्णाली १५ बर्षदेखि भारतीय कम्पनीलाई ओगटेर राख्नदिइएको, अझ हालै प्रधानमन्त्रीको भारत भ्रमणका बेलाफुकोट कर्णाली बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई सुम्पिने काम भएको, कर्णाली र भेरी करिडरको बाटोलाई प्राथमिकता नराखिएको, दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् सम्बन्धी सुरु भएको योजना अलपत्र परेको, नलगाड जलविद्युत् परियोजनाको कामलाई लामो समयदेखि अल्झाएर राखिएको र यस्ता कामबाट कर्णालीमा आगामी कैयौँ बर्षसम्म विकासका ठूला काम हुनै नदिन होल्ड गरेर राख्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ।

नेपाल कर्म । ६ भाद्र २०८०, बुधबार २०:०५