तलब दिएर युवालाई बाँदर धपाउने जागिर

जुम्ला । एउटा गाउँमा बेरोजगार रहेका युवालाई गाउँमा नै बालीनाली हेर्ने जागिर दिने गरिएको छ । जुम्लाको सिंजा गाउँपालिका–६ भाडगाउँ र जोडु गाउँमा गाउँले नै मिलेर बेरोजगार युवालाई बालीनाली हेर्ने जिम्मा दिने गरिएको हो ।



फायल तस्वीर सौजन्य नेपालट्राभल

बालीनाली गाईबस्तु, पशुचौपायाबाट जोगाउनका लागि चौकीदार राख्न थालिएको छ । बाँदर धपाउन गाह्रो भएपछि गाउँलेले मिलेर पारिश्रमिक व्यहोर्ने गरी चौकीदार राखेका हुन् ।

सिंजा गाउँपालिका वडा नं. ६ को भाडगाउँ र जोडु गाउँमा गाउँले नै मिलेर बेरोजगार युवालाई चौकीदारको रोजगारी पाउने गरि बालीनाली पशुचौपाया जोगाउनका लागि चौकीदार राखिएको वडा अध्यक्ष लालबहादुर बुढाले बताए । ‘गाउँको नजिकै चरन क्षेत्र भएका कारणले गाउँले नै मिलेर चौकिदार राखेका हुन् ।’ उनले भने,‘यसमा गाउँमा राखिएका चौकिदार कुनै सरकारी बजेट विनियोजन गरिएको छैन ।’

सिंजा गाउँपालिका भाडगाउँमा र जोडु गाउँमा दुई जना चौकिदार राखिएको वडाध्यक्ष बुढाले जानकारी दिए । जोडु गाउँ किसानले खेतबारी लगाएको बाली हेर्नका लागि नन्दलाल नेपाली रहेका छन् । यो गाउँको घरधुरीका संख्या ११० रहेको छ ।

एउटा घरबाट एक सयका दर रकम उठाउने गरिएको र नेपालीले मासिक तलब एक घरधुरीका एक सयका दरले उठाउँदा मासिक तलब ११ हजार हुने गरेको स्थानीय लोकबहादुर बुढाले जानकारी दिए ।

त्यस्तै, भाडगाउँमा ३४ वर्षीय प्रेमबहादुर दमाईलाई चौकीदार रहेका छन् । गाउँका १६५ घरधुरीले महिनामा एक–एक सय रुपैयाँ उठाउने गरेका छन् । दमाईको महिनामा १६ हजार ५ सय रुपैयाँ तलब हुन्छ ।

पाँच वर्षदेखि गाउँमा राख्न थालिएका चौकीदार हरेक ६-६ महिनामा फेरिने गरेको र बेरोजगार युवालाई विशेष गरे छनोट गर्ने गरिएको स्थानीय रामबहादुर रावतले बताए ।

जागिर पाउनका लागि स्वास्थ्यका हिसाबले ठीक, दौडिन सक्ने, पशुचौपाया खेतबारी पसेको बेला दौड्न सक्नेलाई रोजगारी दिने गरिएको स्थानीय रावतले बताए । यी गाउँमा धान, मकै, सिमी, कोदो, फापर खेती गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया