रूकुम पूर्व । रूकुम पूर्वमा प्रहरीले एक युवाकाे हत्या गरेकाे आराेपमा पाँच जनालाइ पक्राउ गरेकाे छ । भूमे गाउँपालिका-५, का २८ वर्षीय अन्जान बुढा मगरलाई कुटपिट गरेर हत्या गरिएको अभियोगमा पाँच जना युवाहरूलाई पक्राउ गरेकाे रूकुम पूर्व प्रहरीले जानकारी दिएकाे हाे ।

पक्राउ पर्नेमा भूमे गाउँपालिका वडानम्वर -५, का ३१ वर्षीय चन्द्रबहादुर बुढा, सोही गाउँका २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय ताराबहादुर बुढा, २५ वर्षीय रस्तबहादुर बुढा र २५ वर्षीय हस्तबहादुर बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डे जानकारी दिए ।


यहीँ भदौ १ गते बुढा मगर कुटपिटबाट गम्भीर घाईते भएका थिए । मछेनास्थित गोठबाट घरतिर फर्कने क्रममा पाँच जना युवाको आक्रमणमा परेर घाईते भएका उनलाई उपचारको लागि रुकुम पूर्व अस्पतालमा ल्याईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि भदौ ३ गते कोहलपुर मेडिकल कलेज रिफर गरिएकोमा सोही दिन मृत्यु भएको हो।

नेपाल कर्म । ५ भाद्र २०८०, मंगलवार १०:१७