चीन भम्रणमा कर्णाली करिडाेरकाे विकास गर्न माग राख्छु : प्रधानमन्त्री प्रचण्ड

‘कर्णाली एउटा सभ्यता हो, यहाँको विकासलाई सधैं प्राथमिकतामा राख्दै आएको छु’

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिवाद्धता जाहेर गरेका छन्। सोमबार कर्णालइ प्रदेश सरकारले आयोजना गरेको कर्णाली स्थापन तथा सहिद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



उनले भने, ‘बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहनेछ। कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

साथै उनले कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट म उत्साहित भएको बताए।

उनले भने, ‘साँच्चै कर्णाली मुलुककै समृद्धिको मुहान बन्‍न सक्दछ। कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा रहेको अपार सम्भावनालाई मैले बुझेको छु। कर्णाली एउटा सभ्यता हो। यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ।’

प्रधानमन्त्री प्रचण्डले अथाह प्राकृतिक साधनस्रोत हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभाव, पूर्वाधार विकासमा भौगोलिक चुनौती एवं आर्थिक स्रोत परिचालनको अभाव, कर्मचारी परिचालन र व्यवस्थापनमा चुनौतीजस्ता विषयहरू गम्भीर प्रकृतिका भएको बताए।

उनले दुर्गममा कर्मचारी बस्न नचाहने र संघीय सरकारले पनि पर्याप्त ध्यान नदिँदा प्रदेश सरकारका काम कारबाहीहरू प्रभावित भएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको र आगामी दिनमा यो समस्याको उचित सम्बोधनका लागि आवश्यक पहल लिने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेशको मेरूदण्डका रूपमा रहेका टेरिटोरियल तथा कोरिडोर विकास अवधारणा, कर्णाली करिडोर, कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी जुम्ला शहीद कामी बुढा मार्ग, कैलाश मानसरोबर दर्शन क्षेत्रहुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्वका योजना पूरा गर्न संघीय सरकारकोतर्फबाट मेरो सम्पूर्ण रूपले पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले गरेका छन् ।

तपाईको प्रतिक्रिया