बलिदानीबाट जन्मिएको कर्णाली प्रदेश प्राप्ति आन्दोलनको आठ वर्ष

शहिद परिवार भन्छन्, 'सरकारले हेरेन'

सुर्खेत । आठ वर्ष अघि अर्थात् २०७२ साउन २३ गते ६ प्रदेशको सीमाङ्कसहितको खाका सार्वजनिक गरेपछि सुर्खेतमा अखण्ड मध्यपश्चिमको आन्दोलन चर्कियो । आन्दोलनका क्रममा सुर्खेतमा तीन र जुम्लामा एक जनाको ज्यान गयो । तिनै सदिहको बलिदानीबाट जन्मिएको प्रदेशको सत्ताको वागडोर सम्हालिरहेका राजनीतिक नेतृत्वले सहिद परिवारलाई उपेक्षा गरेको गुनासो गरेका छन् ।




बाँके र बर्दिया बाहेक साविकका भेरी अञ्चलका तीन र कर्णालीका पाँच जिल्ला सुदूरपश्चिम गाँभेपछि सुर्खेतमा आन्दोलन चर्किएको थियो । करिव दुई सातासम्म चलेको आन्दोलनको क्रममा सुर्खेतका टिकाराम गौतम, गोपलसिंह रजवार, यामबहादुर विसी र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो ।

उनीहरुकै योगदानले प्रदेश प्राप्ती भएपनि प्रदेश सरकारले बलिदानीको कदर नगरेको गुनासो सहिद परिवारका भगवती विसी बताउँछिन् । चार जनाको मृत्युपछि १० लाख राहत रकम मात्रै पाएको गुनासो सहिद परिवारको छ ।

चहलपहल हुने स्थानमा शालिक निर्माण, सहिद परिवारका सदस्यलाई परिचयपत्र, रोजगारीको व्यवस्था, स्वास्थ्य उपचार निःशुल्क र प्रतिष्ठान स्थापनामा सरकारले चासो नदिएको जिसीले बताइन ।

तर कर्णाली सरकारले सहिदको बलिदानीको खेर जान नदिएको र उनीहरुका मागहरुलाई क्रमिक रुपमा सम्बोन्धन गरिरहेको कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसी बताउँछन् ।

उनले शहिदकै बलिदानबाट प्रदेश प्राप्ती भएकाले भदौ ४ गते शहिद दिवस मनाउने र प्रदेशभरी सार्वजनिक विदा दिएको जनाए । कतिपय मागहरु क्रमिक रुपमा पूरा हुन्छन् ति मागलाई सम्बोन्धन गर्न सरकार प्रतिवद्ध रहेको आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका प्रवक्ता जिसीले उल्लेख गरे ।

उनले शहिद दिवसको दिन विशेष कार्यक्रमको आयोजना गर्दै आएको र शहिद परिवारलाई यो वर्ष पनि सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए । त्यो बेला गरिएको आन्दोलनको रापबाट अन्ततः प्रदेश नं. ६ अर्थात कर्णाली प्रदेश जन्मिएको हो ।

१० जिल्ला समावेश गरेर छुट्टै प्रदेश बनाउने सरकारले घोषणा गरेपछि आन्दोलन मत्थर भएको थियो । तर प्रदेश सरकारले प्रदेश प्राप्तीको आन्दोलनमा मृत्यु भएका चारै जनालाई शहिद घोषणा गरेर भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय यसअघि गरिसकेको छ ।

सहिदहरुको सम्झानार्थ वीरेन्द्रनगरमा निर्माण गरिएको शहिद पार्क निर्माण गरिएको छ । यद्यपी सहिद परिवारहरुले सहिदहरुको शालिक निर्माण गरिदिन अपिल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया