महावु र रावतकाेट जोड्ने छामघाट खोलामा पुल बनाउन अध्ययन शुरु

ताराघाटमा पुल बनाउन डिपिआरमै सिमित

सुर्खेत । दैलेखको छामघाट खोलामा पुल निर्माणका लागि अध्ययन शुरु गरिएको छ । भैरवी गाउँपालिकाको वडा नम्बर १ र महावु गाउँपालिकाको वडा नम्बर २ जोड्ने छामघाट खोलामा पुल निर्माणका लागि अध्ययन शुरु गरिएके हो ।




सडक विभागको पुल महाशाखाले पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न टोली छामघाट खोलाको दारेघाट पुगेको छ । टिसी विएमसीएल एचइसी जेभी काठमाडौंको परामर्श टोलीले आइतबारदेखि पुल निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) को काम थालेको महावु गाउँपालिकाका प्रवक्ता प्रकाशराज थापाले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार टोली दुई चारदिन दारेघाटमै बसेर काम गर्नेछ ।

करिव ५५ लाख लागतमा टिसी विएमसीएल एचइसी जेभी काठमाडौंले डिपिआर बनाउन लागेको हो । पहिलो चरणमा जेभीले डिपिआरको अध्ययन र दोस्रो चरणमा माटो परीक्षणको काम गर्ने जिम्मेवारीसहित टोली दैलेख आएको महावु गाउँपालिका २ का वडाध्यक्ष समेत रहेका प्रवक्ता थापाले जानकारी दिए । अबको एक हप्तापछि परामर्शदाताले मेशिन मगाएर माटो परीक्षणको कामसमेत थाल्ने जानकारी गराएको उनी बताउँछन् ।

दारेघाटमा पुल नहुँदा वर्षातमा बाढीका कारण अवरुद्धहुँदा महावुका बडाखोला, गिताचौर, बाँसी, काँशीकाँध लगायतका नागरिकहरुले सास्ती खेप्नु परेको छ । हिउँदमा भने खोलामा पानी कमहुँदा सवारीहरु खोलाबाटै गितााचौरसम्म पुग्ने गरेका छन् । दारेघाटमा पुल निर्माणका लागि लामो समययदेखि स्थानीयले माग राख्दै आएका थिए ।

सम्भाव्यता अध्ययनले पुल निर्माण हुन्छ भन्ने आशा जगाएको स्थानीयले खुसी व्यक्त गरेका छन् । तर महावुको केन्द्र गैंडाबाज जाने ताराघाटमा पुल बनाउन यसअघि नै सम्भाव्यता गरेपनि हालसम्म निर्माण नहुँदा स्थानीयले शंका व्यक्त गरिरहेका छन् ।

दारेघाटमा पक्की पुल निर्माणका लागि करिव २२ करोड बजेट लाग्ने पूर्वानुमान गरिएको छ । पुल महाशाखाले स्थानीय स्तरका सडक पुल तथा सडक पहुँच सुधार कार्यक्रम अन्तरगर्त परामर्श दातालाई दारेघाट पठाएको हो ।

महाशाखा र परामर्शदाताबिच सम्भाव्यता अध्ययनका लागि गत साउन ५ गते सम्झौता भएको थियो । परामर्शदातालाई निर्धारित समयमै काम सकेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

परामर्शदताले निर्धारित समयमै काम सकेर प्रतिवेदन बुझाउने प्रतिवद्धता व्यक्त गरेको प्रवक्ता थापाले बताए । दारेघाटमा पुल निर्माण भएपछि मध्यपहाडी राजमार्गको जिरो प्वाइन्टबाट रावतकोटको जलजले–बडाखोलाहुँदै काँशीकाँधसम्म पुग्न सहज हुनेछ । यो खोलामा बुलबनेपछि माथिल्लो डुंगेश्वर–विनायक–दुल्लु–ब्याउली कालिकोट जोड्ने सडकमा पुग्न १० देखि १५ किलोमिटर छोटो हुने अनुमान छ ।

ताराघाटमा पुल बनाउन डिपिआरमै सिमित
यता, दैलेख सदरमुकामबाट महावु गाउँपालिकाको केन्द्र गैंडाबाज जोड्ने ताराघाटमा पुल निर्माणका लागि दुई वर्षअघि नै सम्भाव्यता गरिएको थियो । तर केन्द्र र प्रदेश सरकारले प्रयाप्त बजेट विनियोजन नहुँदा पुल निर्माणले गति लिन सकेको छैन् ।

यो वर्ष प्रदेशले केन्द्रीय पुल महाशाखासँग समन्वय गरेर बजेट विनियोजन गरेको प्रवक्ता थापा बताउँछन् । उनकाअनुसार ताराघाटमा पुल निर्माणका लागि संघले ४० र प्रदेशले ५० लाख बजेट विनियोजन गरेका छन् ।

‘क्रमागत योजनामा राखेर पुल निर्माण यसैवर्षबाट गर्नेगरी प्रदेशमा फायल पेश गरिएको जानकारी पाएको छु,’ प्रवक्ता थापाले भने, ‘सम्भवत यो वर्षदेखि ठेक्का आह्वान गरेर पुल निर्माणको काम अघि बढ्छ की भन्ने अपेक्षा पालिकाको छ । हामीले पनि कम्तिमा दारेघाट र ताराघाट दुवै खोलामा पुल बन्नुपर्छ भनेर पहल गरिरहेका छौं ।’

यता, पालिकाको केन्द्र गैंडाबाज–ताराघाट सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको छ । खरिगैरास्थित स्वास्थ्यचौकी भवनसम्मको आठ किलोमिटर सडक कालेपत्रे गर्ने र गैँडाबाजसम्मको सडकलाई स्तरोन्नति गर्नेगरी ठेक्का भइसकेको प्रवक्ता थापा बताउँछन् । उनले यो सडकका लागि करिव २४ करोड बजेट प्रदेशबाट विनियाजन गरिएको जनाए ।

तपाईको प्रतिक्रिया