सुर्खेत । सातैवटा प्रदेशमा एक-एक मेडिकल कलेज स्थापना गर्ने संघीय सरकारको योजना ५ वर्ष अगाडि सुरु गरिएको थियो । सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि लामो समयपछि (वातावरणीय प्रभाव मूल्यांकन) ईआईए प्रक्रिया सुरु भएको छ । यसले मेडिकल कलेज स्थापना हुने विश्वास बढेपनि शंका भने मेटिएको छैन् ।

सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि आवश्यक ईआईए प्रतिवेदन तयार भई अन्तिम स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले गत वैशाख दोस्रो साता कलेज निर्माणका लागि आवश्यक ईआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको हो ।
एकै समयमा मन्त्रालयले मधेश प्रदेशको बर्दिवास, लुम्बिनी प्रदेशको रुपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माणका लागि प्रतिवेदन तयार गर्न सहमति दिएको थियो । मन्त्रालयको अनुमति पाएपछि आयोजनाले पूर्वाधार निर्माण, मेडिकल कलेजको सम्भाव्यता अध्ययन, गुरुयोजना निर्माण, ईआईए र विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका कामहरु अगाडि बढाएको थियो ।

सोही अनुसारकलेज निर्माणका लागि आयोजनाले झण्डै पाँच वर्ष लगाएर ईआईए प्रतिवेदन तयार पारेको हो । तर लामो समयसम्म कछुवा गतिमा काम भएकोमा शंका गर्ने ठाउँ अझै रहेको सामाजिक अगुवा पूर्णप्रसदा पौडेल बताउँछन् ।
‘स्थानीयबासीले नै छिटो मेडिकल कलेज बनाउ भनेर सामुदायिक वन भित्रको जग्गाका सर्वसम्मत तवरबाट प्रदान गरिएको हो,’ पौडेल भन्छन्, ‘यति लामो समयसम्म वित्दा पनि निर्माण प्रक्रिया आरम्भ नगर्नु हालका सत्ता केन्द्रीत दलको स्वार्थ बाँझिएको छ । अब नागरिकस्तरमै जनदवाव गर्नुपर्ने परिस्थिति आएको छ ।’
प्रस्तावित मेडिकल कलेज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ र १३ मा निर्माण हुनेछ । आयोजनाको ईआईए प्रतिवेदनअनुसार प्रस्तावित आयोजनाका लागि २९ हेक्टर जग्गा आवश्यक पर्छ । आयोजनाका लागि प्रस्ताव गरिएका साइट ‘ए’ र साइट ‘बी’ बीचको दूरी दुई किलोमिटर छ ।


आयोजना स्थलसम्म झण्डै चार मिटर चौडाइको पहुँच मार्गसमेत विस्तार भइसकेको सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका ईन्जिनियर शंकरप्रसाद तिमिल्सेना बताउँछन् । यो आयोजना सुर्खेत विमानस्थलबाट तीन किलोमिटर उत्तर पूर्वमा पर्दछ । आयोजनाको जम्मा क्षेत्रफल ९५ हजार एक सय ६० वर्गमिटर छ । ईआइए स्वीकृत भएपछि डिपिआर निर्माणको काम थाल्ने तयारीमा रहेको तिमिल्सेना बताउँछन् ।
मेडिकल कलेजभित्र हस्पिटल, सिनियर र जुनियरका लागि छुट्टाछुट्टै होस्टेल, प्रोफेसर क्वाटर, एसोसिएट प्रोफेसर क्वाटर, स्टाफ क्वाटर, छात्रा छात्रा होस्टेल, प्रशासनिक, नर्स होस्टेल, गार्ड हाउस, क्याफेटेरिया ब्लकलगायत रहने प्रतिवेदनमा उल्लेख छ ।
रेडियोलोजी, अल्ट्रा साउण्ड, प्याथोलोजी, सर्जरी, युरोलोजी, अन्कोलोजी, नाक, कान, घाँटीसम्बन्धी सेवासँगै उच्चस्तरीय मेडिकल कलेज हुने बताइएको छ । आयोजनाले २०७६ जेष्ठदेखि सुर्खेतमै कार्यालय स्थापना गरेर काम गर्दै आएको छ ।
६ सय शैयासहित वार्षिक एक सय जना एमविविएस डाक्टर उत्पादन गर्ने क्षमता रहको मेडिकल कलेजको कुल लागत १७ अर्ब बढी हुने अनुमान गरिएको छ ।

सुशील खड्का । ३ भाद्र २०८०, आईतवार ०९:०४