सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सवारीको चाप बढ्दो छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका दुई जिल्लाहरुमा पुग्ने सवारीको मुख्य प्रवेशद्वार पनि वीरेन्द्रनगर नै हो । वीरेन्द्रनगरबाट दैनिक यात्रु र मालवहाक सवारी सयौंको संख्यामा बाहिरिने गर्दछन् ।
वीरेन्द्रनगरबाट मुख्यगरी, दैलेख, सुर्खेत पश्चिम, कालिकोट, जुम्ला, मुगु र हुम्ला तथा सुदूरपश्चिमका अछाम र बाजुराका लागि सवारीका साधनहरु छुट्ने गर्दछन् । यात्रु र मालबाहक मात्रै हैन् सरकारी र नीजि सवारीहरु पनि उत्तिकै संख्यामा बाहिरिने र भित्रने गर्दछन् । तर वीरेन्द्रनगरमा रहेको सिटी बसपार्कको क्षमताभन्दा सवारीको चाप बढेपछि वीरेन्द्रनगर नगरपालिकाले कर्णाली बसपार्क निर्माणका लागि अघि सारेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ बाँगेशीमल प्रहरी चौकीको पश्चिममा निर्माण गर्न लागिएको बसपार्कको जग्गा अधिकरणका लागि प्रक्रिया शुरु गरिएको छ । नगर कार्यपालिकाको बैठकले निर्णय नै गरेर बसपार्कको सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले यो वर्ष १० लाख बजेट विनियोजन गरेको छ ।

‘हाल वीरेन्द्रनगरमा रहेको सिटी बसपार्कदेखि लामो तथा छोटो दुरीका सार्वजनिक सवारीहरु छुट्ने गरेका छन् तर यो बसपार्कले मात्रै चाप धान्ने अवस्था देखिएन्,’ नगर प्रमुख मोहनमाया ढकाल भन्छिन्, ‘वीरेन्द्रनगरमा देखिएको सवारी चापलाई व्यवस्थापन गर्न लागि बाँगेशीमलमा कर्णाली बसपार्क निर्माणको लागि आवश्यक प्रक्रिया पूरा गरिरहेका छौं ।’

बाँगेशीमलमा बसपार्क बनेपछि सुर्खेत पश्चिम, कालिकोट, हुम्ला, मुगु, जुम्ला, दैलेख पश्चिम लगायतका जिल्लाहरुमा छुट्ने सवारीहरु रोकिनेछन् । ‘बसपार्क बनाउनुको उदेश्य नै कम्तिमा कर्णाली राजमार्ग भएर वीरेन्द्रनगर आउने र वीरेन्द्रनगरबाट बाहिरिने सार्वजनिक सवारीहरु बाँगेशीमलमै रोक्नु हो,’ ढकाल भन्छिन्, ‘यसले वीरेन्द्रनगरको बढ्दो सवारीले ट्राफिक व्यवस्थापनमा सहजता हुनेछन् भने, रोजगारीका अवसरहरु पनि थप सिर्जना हुनेछन् ।’
नगरपालिकाले यो आर्थिक वर्ष सम्भाव्यताको काम सक्ने र संघ सरकारको स्वामित्वमा रहेको जग्गा अधिकरणको काम यसै वर्ष सकिएमा आगामी आर्थिक वर्षबाट निर्माण थाल्ने गृहकार्यमा छ । सम्भाव्यता अध्ययनले मात्रै कति जग्गा आवश्यक पर्ने भन्ने एकीन हुनेछ । त्यसपछि मात्रै लागत खर्चसहितको पूर्वानुमान गर्न सकिने नगरपालिकाले जनाएको छ ।
वीरेन्द्रनगरमा रहेको सिटी बसपार्क २०७७ मंसिरबाट सञ्चालनमा ल्याइएको हो करिव सात करोड लागतमा बनेको बसपार्कको क्षमता १२० ओटा सवारी अट्ने क्षमताको हो । बढ्दो सवारी चापका कारण यातायात व्यवसायीहरुले बैकल्पिक बसपार्क निर्माण गर्न नगरपालिका र प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह गरिरहेका छन् ।

सुशील खड्का । २ भाद्र २०८०, शनिबार १५:१२