स्वर्ण पदक विजेता नन्दा बस्याललाई सुर्खेतमा सम्मान

सुर्खेत । विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण पदक विजेता नन्दा बस्याललाई गृह जिल्ला सुर्खेतमा भव्य सम्मान गरिएको छ ।सुर्खेत जिल्ला तेक्वान्दो संघले आयोजना गरेको अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी सम्मान कार्यक्रममा बस्यालसँगै कास्य पदक बिजेता प्रविन बयकलाई समेत सम्मान गरिएको हो ।



स्वर्ण पदक बिजेता बस्याल र बयकलाई पञ्चेबाजासहित वीरेन्द्रनगर बजार परिक्रमा गराइएको छ । सम्मान कार्यक्रममा खेलाडीहरुको सहभागिता रहेको थियो भने स्थानीयले बस्याल र बयकलाई फुलमाला खादाले विभिन्न चोकमा सम्मान गरेका थिए ।

स्वर्ण पदक विजेता नन्दा बस्यालले कोरयामा जुलाई २१ देखि २४ सम्म सम्पन्न भएको विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । अर्का तेक्वान्दो खेलाडी प्रविन बयकले असार २९ गते थाइल्याण्डमा सम्पन्न भएको ओप्पन तेक्वान्दो प्रतियोगितामा कास्य पदक जितेका थिए ।

कर्णाली प्रदेश तेक्वान्दोका प्रमुख प्रशिक्षक भुवन थापाले कर्णालीकी छोरी नन्दा बस्याले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेर नेपालको नाम संसारभर चिनाएकोमा स्वर्ण पदक बिजेता बस्यालाई बधाइ दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरीले कर्णालीमा पनि अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता खेलाडीहरु छन् भन्ने यो बलियो उदाहरण तेक्वान्दो खेलाडी नन्दा बस्यालले देखाएकाे बताए । स्वर्ण पदक बिजेता बस्याल राष्ट्रिय खेलकुद परिषदको कार्यकारी बोर्ड सदस्य समेत हुन् ।

तपाईको प्रतिक्रिया