खमारी खोला लघु जलविद्युत राष्ट्रिय प्रशारणमा जाेडिदैँ

आवश्यक पूर्वाधार निर्माण गर्न सम्झाैता

बाबियाचाैर (सुर्खेत) । सुर्खेत पश्चिमको बावियाचौरमा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुगेसँगै स्थानीय जल विद्युत बन्द भएका छन् । तीन स्थानबाट विद्युत उत्पादन गरेर बावियाचौर र आसपासका क्षेत्रहरुमा विद्युत सेवा दिइरहेका साना जलविद्युत बन्द गरिएको हो । तर खमारी खोला जलविद्युत आयोजनाबाट उत्पादित ५३ किलोवाट क्षमताको विद्युत भने राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको हो ।



 २०६५ सालमा बावियाचौर लघु जलविद्युत सहकारीमार्फत चौरखोलाबाट विद्युत उत्पादनको काम शुरु गरेको थियो । २०६८ सालबाट मात्रै बावियाचौर बजार क्षेत्रका नागरिकहरुका घरघरमा विद्युत वितरण गर्दै आएको यो आयोजनाको विद्युतलाई अन्तत नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय लाइनमा लैजान सहमत भएको छ । २० किलोवाट माथिका आयोजनाहरु राष्ट्रिय प्रशारणमा जोड्न सकिने संकेत विद्युत प्राधिकरणले दिएपछि आवश्यक संरचना थप्नेगरी त्रिपक्षिय सम्झौता गरिएको छ ।

यहीँ खोलाबाट थप दुई ओटा आयोजना पनि त्यसपछि निर्माण गरिएको थियो । तर पछि छुट्टाछुट्टै निर्माण गरिएका दुई आयोजनाबाट विद्युत उत्पादन काम भएपछि बन्द गर्ने तयारी छ । ‘तत्काल विद्युतको राष्ट्रिय लाइन बावियाचौर बजारको उत्तर र पूर्वतर्फका गाउँमा विस्तार नहुनहुँदा केही समयसम्म सञ्चालन रहन्छन्,’ खमारी खोला जलविद्युत आयोजनाका व्यवस्थापक पदमबहादुर बुढाले नेपालकर्मलाई भने, ‘५३ किलोवाटको आयोजनालाई नेट मिटरिङमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक पूर्वाधार निर्माणका लागि सम्झौता गरेर टेण्डर गरीसकेका छौं ।’

राष्ट्रिय लाइनमा जोड्न नेपाल विद्युत प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शम्भु कसियैत यादव, खमारी खोला लघु जलविद्युत आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाही र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रविच सम्झौता गरिएको छ । तर राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक सबै जडान पूर्वाधार निर्माणको खर्च भने आयोजना र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खर्च व्यहार्ने उल्लेख छ । लगात खर्चमा आयोजनाको २२.३५ प्रतिशत र केन्द्रको ७७.६५ प्रतिशत लगानी रहनेछ । आयोजनाले १४ लाख र केन्द्रले ४८ लाख ६२ हजार ९३१ रुपैयाँ रहेको व्यवस्थापक बुढा बताउछन् ।

विद्युतको राष्ट्रिय लाइनमा स्थानीयस्तरमा उत्पादन विद्युत जडान गर्न २० किलोवाटभन्दा माथि उत्पादन क्षमता हुनुपर्छ । खमारी खोला जलविद्युतको पूर्णकालिन क्षमता ५३ किलोवाट हो । तर सुख्खा मौसममा ३५ देखि ४० र वर्षात्मा ५० किलोवाट विद्युत उत्पादन गरिरहेको छ । ‘राष्ट्रिय लाइनका लागि हाम्रो क्षमता पुगेको छ ।

तर केही संरचनाहरु थप्नु पर्ने देखिएको छ,’ आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले भने, ‘केही महिनामा नेट मिटरिङ सिस्टमका लागि आवश्यक पूर्वाधार निर्माण गरेर प्राधिकरणलाई विद्युत विक्री गर्नेगरी लागेका छौं ।’ आयोजनाले विद्युत विक्री गरेपछि खपतका आधारमा शुल्क प्राधिकरणले दिनेछ ।

करिव चारसय घरधुरीमा करिव ११ वर्षसम्म बावियाचौरबासीका घर–घरमा उज्यालो दिएको चौर खोला जलविद्युत आयोजना बन्द गरिएको छ । २४ किलोवाट क्षमताको चौर खोला लघु जलविद्युतपछि बावियौचारमा थप तीन ओटा जलविद्युत सञ्चालनमा ल्याइएका थिए । खमारी खोला लघु जलविद्युत (क) बाट ५३ किलोवाट, (ख) १५ किलोवाट र (ग) बाट १० किलोवाट विद्युत उत्पादन गरिँदै आएको हो ।

तीन वटै आयोजनाबाट हाल करिव एक हजार ३८२ घरधुरी लाभान्वित छन् । यी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको चनाली, भावर, बरैचे, डाव, सिद्धपुर, चत्तुरे, चनाली, लाटीकाँडा, सालकोट लगायतमा सेवा दिइरहेको छ । ‘वर्षौंसम्म पश्चिमका नागरिक विद्युतको राष्ट्रिय पहुँच बाहिर थिए ।

‘स्थानीय स्रोत साधनको उपयोगबाट जनतालाई सेवा गर्ने मौका पायौं,’ खमारी खोला जलविद्युत आयोजनाका अध्यक्ष शाहीले भने, ‘स्थानीय उत्पादनले ठूलो कलकरखाना प्रयाप्त चलाउन सकस थियो । टुक्कीको सहारामा दैनिक गुजार्न बाध्य यहाँका नागरिकहरुलाई सकेसम्म उज्यालो बनाउने कोशीस गरेका थियौं । ढिलै भएपनि राष्ट्रिय प्रशारण लाइन जोडिएको छ, यसले केही थप आशा र उत्साह थपिदिएको छ ।’

हाल प्राधिकरणले खमारी खोला र चौर खोला आयोजनाबाट विद्युत प्रवाह भइरहेका पोल र तारबाट बावियाचौर आसपासमा विद्युत लाइन सुचारु गरेको छ । सुर्खेत पश्चिमको विद्यापुर र लगाममा साना लघु जलविद्युत र गुटुमा सोलार प्यानलबाट विद्युतको पहुँच नागरिकहरुलाई पुर्‍याइएको छ । लगामको तालागाउँमा २२ किलोवाट विद्युत उत्पादनका लागि सर्भे भइरहेको छ ।

तपाईको प्रतिक्रिया