अमेरिकाले चुनावी मुद्दालाई लाभका लागि उचालेको बङ्गालादेशकी प्रधानमन्त्रीको दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले बङ्गालको खाडीमा नियन्त्रण कायम गर्न खोजेको आरोप बङ्गालादेशकी प्रधानमन्त्री शेख हसिनाले बुधबार बताएकी छन्।



अमेरिकाले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन सम्पन्न गर्न र ‘मानव अधिकारको रक्षा’ का लागि भन्दै बङ्गालको खाडीमा नियन्त्रण कायम गर्न खोजेको र बङ्गलादेशलाई दबाब दिइरहेको प्रधानमन्त्री हसिनाले बुधबार बताएकी हुन्।

उसले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचनको मुद्दा उठाएर यस क्षेत्रलाई अस्थिर बनाउन चाहेको उनले बताए। “बङ्गलादेशीको निर्वाचन र लोकतन्त्र अमेरिकाको उद्देश्य होइन,” हसिनालाई उद्धृत गर्दै स्थानीय अनलाइन पत्रिका बिडिन्युज–२४ डट कमले उल्लेख गरेको छ।

उनले भने, “उनीहरू हिन्द महासागर र बङ्गालको खाडीक्षेत्रमा नियन्त्रण कायम गर्न लोकतन्त्र र निर्वाचनलाई प्रयोग गरेर बङ्गलादेशमा बहाना सिर्जना गर्न चाहन्छन्।”

अमेरिकी विदेश मन्त्रालयले बङ्गलादेशको लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको भन्दै केही बङ्गलादेशी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

वासिङ्टनले यसअघि बङ्गलादेशको अपराध नियन्त्रणका लागि विशेष बल, र्‍यापिड एक्सन बटालियनमाथि मानव अधिकारको घोर उल्लङ्घन गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो।

हसिनाले आफ्ना पिता शेख मुजिबुर रहमानका स्वघोषित हत्यारा रशेद चौधरीलाई आश्रय दिएकोमा अमेरिकाको आलोचना गरिन्।

उनले भनिन्, “हत्यारालाई आश्रय दिने देशले कसरी मानव अधिकार, निर्वाचन र पारदर्शिताको कुरा गर्छ?”

तपाईको प्रतिक्रिया