फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन भएको छ। उनको ४१ वर्षको उमेरमा शुक्रबार निधन भएको अखिल नेपाल फुटबल संघले जनाएको छ।

नेपाली सेनामा कार्यरत चौधरी अभ्यासका क्रममा विहान करिब पौने १० बजेतिर भद्रकालीस्थित मैदानमै ढलेका थिए। मैदानमा ढल्ने बित्तिकै सेनाको मेडिकल टोलीले उनको प्राथमिक उपचार गरेको थियो।

मैदानमै सिपिआरपछि तत्काल छाउनी अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे। सेनाका हवल्दार चौधरीले सन् २००७ देखि रेफ्री करिअर सुरु गरेका थिए।

सन् २०२० मा फिफाको असिस्टेन्ट रेफ्री बनेका उनी फिफा ब्याचको नवीकरणका लागि विशेष तयारीमा जुटेका थिए। सर्लाही स्थायी घर भएका चौधरीको श्रीमती र २ सन्तान छन्।
फिफा सहायक रेफ्री चौधरीको निधनले २ वर्षअघिको फिफा रेफ्री लव खत्रीको निधनको संझना दिलाएको छ। त्यतिबेला फिफा रेफ्री खत्री पनि नियमित अभ्यास गरेर घर फर्किएको अवस्थामा कोठामा मृत भेटिएका थिए।

नेपाल कर्म । १ भाद्र २०८०, शुक्रबार २०:२७