अब जुम्लामै मिर्गौला रोगीहरुको लागि डायलासिस सेवा

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डायलासिस सेवा सुरू गरिएकाे छ । मृगौला रोगीहरुलाई केन्द्रित गर्दै सोमबारदेखि डायलासिस सेवा सुरु गरिएको हो । अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार मेसिन जडान गरेपछि सेवा सुरु गरिएकाे हाे ।




‘जब मिर्गौला रोगीहरुको मिर्गौलाले काम गर्दैन । शरीरका फोहोर चिजहरु फालिरहेको हुँदैन । उति नै बेला मिर्गौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ,’ निर्देशक रोकायाले भने, ‘त्यही सेवा दिने हेतुले सुरु भएको डायलासिस सेवाले कर्णालीका मिर्गौला रोगीहरुको लागि निकै राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।

उनले डायलासिस सेवा लिनको लागि मिर्गौला रोगीहरुलाई आह्वान समेत गरेका छन् । ‘मिर्गौलाका बिरामीहरु आउनुहोस् । हामी सेवा दिन तयार भइसकेका छौं,’ उनले भने, ‘यो सेवाले कर्णालीबासीको लाखौं रुपैयाँ जोगाउने छ ।’

डायलासिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन । तर कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपुर प्रयोग गरेर सेवा दिइनेछ । जसका लागि एक नर्सिङ अफिसर र दुई जना स्टाफ नर्सलाई तालिम दिइएर खटाइएको छ । उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन् ।

निर्देशक रोकायाले भने,‘जुम्लामा मिर्गौला पीडितहरुको तथ्यांक राखिएको छैन । तर बिरामीहरु आइरहेका हुन्छन् । यो सेवाले मिर्गौला पीडितहरुको तथ्यांक राख्न सहज हुनेछ ।’

यो सेवा अस्पतालले नि:शुल्क रुपमा प्रदान गर्ने भएपनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरु निकै महँगोमा सेवा लिइरहन बाध्य थिए । ‘यसअघि सुर्खेत,नेपालगञ्ज र काठमाडौंका सुविधा सम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरुले डायलासिस सेवा लिइरहेका थिए । उनीहरुले अब घरपायक सेवा पाउने भए । यो खुसीको कुरा हो,’ निर्देशक रोकायाले भने ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलासिस मेसिन दिइएको छ । जसमध्ये दुई मेसिन मात्र प्रयोगमा ल्याइएको छ । बिरामीको चाप अनुसार मेसिनहरु जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटी स्क्यान, एक्सरे, डायलासिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोग सम्बन्धीको सेवा दिइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले डायलासिस सेवा मिर्गौलाका बिरामीहरुका लागि सुखद सन्देश भएको प्रतिक्रिया दिएका छन । उनले मिर्गौलाका रोगी डाइलाइसिस गर्न काठमाडौं, सुर्खेत नेपालगञ्ज जान पर्ने बाध्यता अन्त्य हुने बताए ।

तपाईको प्रतिक्रिया