सुर्खेत । भेरीगंगा नगरपालिकाको रामघाट र लेकबेशी नगरपालिकाको दशरथपुर जोड्ने भेरी नदीमा पक्की पुल निर्माण गर्न २०७३ सालमा शिलान्यास गरियो । शिलान्यास गरिएअनुसार यो पल हालसम्म निर्माण सम्पन्न भएर सञ्चालन भइसक्नु पर्ने हो । तर हालसम्म उक्त पुल निर्माणले गति लिन सकेको छैन् ।

रामघाट–दशरथपुर जोड्ने पुल समयमै निर्माण नहुनुको कारण शुरुवातमा ठेक्का लागेका निर्माण व्यवसायीले काम नगर्दा अलपत्र परेको हो । पक्की पुल निर्माण गर्ने जग (फाउन्डेसन) कमजोर देखिएपछि डिजाइन रिभ्यु गर्न लगाएको निर्माण कम्पनीले पछिल्लो समय पुलको काम नगरेर छाडेको हो ।
डिजाइन रिभ्यु गर्नै पुल बन्नुपर्ने समय अर्थात् ३ वर्ष बढी लागेको यो पुल हाल नयाँ ठेक्का आह्वान गरेर निर्माण प्रक्रिया थालिएको छ । २०७३ माघ ९ गते आशिष जेभी निर्माण कम्पनीसँग २० करोड बढी लागतमा सम्झौता भई ०७६ माघ १० भित्र सक्ने गरेर पुल निर्माणको जिम्मा लिएको हो ।

तर डिभिजन सडक कार्यालय सुर्खेतलाई विपक्षी बनाएर निर्माण व्यवसायीले तीन करोड रुपैयाँ दाबीसहित उच्च अदालतमा मुद्दा हालेपछि निर्माणको नयाँ प्रक्रियामा जान ढिलाइ भएको कार्यालयका सूचना अधिकारी टोप नारायण पौडेलले नेपालकर्मलाई जानकारी दिए ।
‘अदालतले अन्तिम किनारा नलगाउँदासम्म नयाँ प्रक्रियामा जान सकिएन्,’ पौडेलले भने, ‘नयाँ ठेक्का आह्वान गर्न मिल्नेसम्म अदालतले बाटो खुला गरेपछि निर्माण व्यवसायी छनोट गरेर फिल्डमा खटाइसकेका छौं ।’

डिजाइनको कारण देखाउँदै पन्छिएको तत्कालिन निर्माण व्यवसायीलाई कार्यालयले पेश्कीवापत २ करोड ९ लाख रुपैयाँ लिएको रकम ब्याजसहित पाँच करोड रुपैयाँ ‘क्लेम’ गरेपछि मुद्दा अदालत पुगेको हो ।
हाल अदालतले नयाँ ठेक्का लागि बाटो खुला गरेपछि पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सले पाएको छ । निर्माण व्यवसायीले रामघाट पारी क्रसरका लागि काम गरिरहेको छ ।

कानूनी प्रक्रिया पनि अन्तिम चरणमा रहेको र पुलको आफै डिजाइन गरेर निर्माण व्यवसायीले रिभ्यूका लागि पुल महाशाखामा फायल पेश गरिसकेको छ । भदौ महिनासम्म डिजाइन स्वीकृत हुने र दशैं अगावै निर्माण व्यवसायीले काम गर्ने सूचना अधिकारी पौडेल बताउँछन् ।
उनले नयाँ ठेक्का आह्वान गरिएको पुल ४२ महिनामा सम्पन्न गर्नुपर्नेछ । यो पुलको कुल लागत ३३ करोड छ । भेरी नदीको विचमा एउटा र वारीपारी सपोर्ट पिल्लर रहने कार्यालयले जनाएको छ ।
दशरथपुरबाट रामघाट वा रामघाटबाट दशरथपुर पुग्न नदी पार गरेर करिब २ मिनेटमा पुग्न सकिन्छ । तर, सवारी साधन (मोटरसाइकल बाहेक) लिएर जानुपरे झण्डै डेढ घण्टा लाग्छ ।
पक्की पुल नभएकै कारण रामघाट–दशरथपुर, दशरथपुर–रामघाट पुग्न मेहलकुना भएर जानुपर्ने बाध्यता छ । आपत्कालिन अवस्थामा बिरामीलाई बोकेर झोलुङ्गे पुल तराउनुपर्छ । यदि, एम्बुलेन्समा लैजाने हो भने, डेढ घण्टाको घुमाउरो यात्रा गर्नुको विकल्प छैन ।
तत्काल अस्पताल पु¥याउनुपर्ने विरामीले उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता यस क्षेत्रका नागरिक बेहोर्दै आएका छन् । पुल बने यसक्षेत्रका नागरिकले मात्रै होइन, सुर्खेतकै मुख्य जक्सनका रुपमा रहेकाल ठूला यातायातका साधन चल्दा उपभोक्तासहित व्यापार व्यवसाय बढ्ने र सुरक्षित यात्रा हुने अपेक्षा गरिएको छ ।

सुशील खड्का । ३२ श्रावण २०८०, बिहीबार १७:३४