सुर्खेत । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडानमा लगाएको प्रतिबन्द हटाएको छ । हवाई उडानसम्बन्धी यसअघि गरेको निर्णय सच्चाउदै अब पहिलेकै नियमलागु गर्ने निर्णय गरेको हो ।
यस प्राधिकरणले हवाई सुरक्षालाई मध्यनजर गर्दै दिउँसो १२ पछि पहाडी क्षेत्रमा उडान गर्न नपाउने निर्णय गरेको थियो ।साथै हेलिकप्टरहरूलाई पनि उद्धार उडान, सामान ढुवानी लगायतको उडानमा रोक लगाएको थियो ।
तर प्राधिकरणले बिहिबार एक विज्ञप्ति जारी गर्दैयसअघिको निर्णयबाट पछि हटेर अब पहिलेकै नियमलागु गर्ने जनाएको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलकाअनुसार यो नियमआन्तरिक वायुयान सञ्चालन गर्ने वायुसेवा तथा हेलिकोप्टरको हकमा लागू हुनेछ।

प्राधिकरणले अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी (भीजीबीलीटी एण्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) कायम भएको सुनिश्चितता पछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि उडान अनुमति दिने जनाएको छ । भीएमसी भनेको मौसम सफा भए-नभएको जानकारी हो।

गत साउन १२ गते प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई व्यवसाय नै जोखिममा पर्ने गरी उडान सम्बन्धी नयाँ नियम ल्याएका थिए। उक्त नियमको कर्णालीमा चौतर्फी विरोध भएपछि उनी सो निर्णयबाट पछि हटेका हुन्।
यसअघिको निर्णयले पहाडी जिल्लामा बिरामीहरूको उद्धार नहुँदा उनीहरूको ज्यानै जोखिममा पर्ने अवस्था थियो।सोही कारण हुम्लाका चार जना बालकले जहाज कुर्दा कुर्दै ज्यान गुमाएका थिए ।

बुधबार कर्णाली प्रदेशका सांसद तथा सरोकारवालाहरूले पर्यटन मन्त्री सुदन किराँती र महानिर्देशक अधिकारीसँग सघन छलफल गरेपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको हो ।
प्रतिनिधिसभा सदस्य छिरिङ लामाकाअनुसार उक्त छलफलमा महानिर्देशक अधिकारीको चर्को आलोचना समेत भएको थियो । कर्णालीवासीको समस्या सुनेपछि मन्त्री किराँतीले तीनदिन भित्रमा समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।
उनले आफ्नो प्रतिबद्धता अनुसार तत्काल पुरानो नियम खारेज गर्न महानिर्देशक अधिकारीलाई निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि महानिर्देशक अधिकारी आफ्नो पुरानो निर्णय सच्चाउन तयार भएका हुन्।
त्यसअघि कर्णालीका सरोकारवालाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर गुनासो गरेका थिए। नियमित उडानको माग गर्दै नेकपा एमालेले कर्णाली प्रदेशसभा समेत अवरुद्ध गरेको थियो।

नेपाल कर्म । ३२ श्रावण २०८०, बिहीबार १६:३५