हवाई प्रतिवन्ध हटाउन छलफल भइरहेको छ : उप–प्रधानमन्त्री खड्का

सुर्खेत । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दिउँसो १२ बजेपछि हवाई उडान प्रतिबन्ध गरेपछि सरकारले खुलाउन छलफल शुरु गरेको छ । हवाई प्रतिवन्धका कारण मुख्यगरी कर्णाली प्रदेशका हिमाली जिल्लाका नागरिकहरु प्रभावित बनेपछि प्रतिवन्ध हटाउन छलफल भइरहेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालकर्मलाई जानकारी दिएका हुन् ।



‘दिउँसो १२ बजेपछि उडान प्रतिवन्धले मुख्यगरी कर्णालीका नागरिकहरुलाई ठूलो समस्याबारे प्रधानमन्त्री चिन्तित हुनुहुन्छ,’ नेपालकर्मसँग खड्काले भने, ‘प्रधानमन्त्रीसँग विभागीय मन्त्रीसहित म पनि सहभागी भएर छलफल गरिरहेका छौं । एक दुई दिनमा प्रतिवन्ध हटाउने गरी सरोकारवाला पक्षसँग छलफल जारी छ ।’

उनले समस्याको समाधान खोज्ने छलफल भइरहेकाले बताए । क्यानले यहीँ साउन १२ गते देशका आन्तरिक विमानस्थलमा दिउँसो १२ बजेपछि उडान अनुमति नदिने निर्णय गरेको थियो । यो नियमले मुख्यगरी, कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र रुकुम पश्चिमका नागरिकहरुले सास्ती खेप्न बाध्य छन् ।

दैवी प्रकोप तथा अन्य घटनाहरुमा पीडित नागरिकहरुले समयमै हवाई सेवा नपाउँदा अकालमै ज्यान गमाउनु पर्ने बाध्यता छ । कर्णाली सरकारले प्रधानमन्त्री कार्यालयलाई सम्बोन्धन गर्दै १२ बजेपछि प्रतिवन्ध गरिएको हवाई उडान नियमित गर्न हारगुहार गरिरहेका छ । यता, कर्णाली प्रदेश सभामा प्रतिपक्षी दल नेकपा एमालेले हवाइ उडान नियमित गर्नुपर्ने माग राख्दै संसद बैठक अवरुद्ध गरिरहेको छ ।

तपाईको प्रतिक्रिया