सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित जिल्लाभर डेंगीको संक्रमण बढ्पछि स्थानीय प्रशासलने सतर्कता अपनाउन नागरिकहरुलाई अपिल गरेको छ । डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाबासीमा यस्तो अपिल गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जारी गरेको सूचनामा भनिएको छ, ‘पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्र सुत्ने र घरको झ्याल ढोकामा लामखुट्टे छिर्ने जाली/झुल लगाउन अनुरोध गर्दछौं ।’

साथै, प्रशसनले घर, कार्यालय, सार्वजनिक ठाउँमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको भएमा तत्काल मर्मत गर्न पनि आग्रह गरिएको छ ।

यस्तै, गमलाको प्लेट, फुलदानी, कुलर आदीको पानी कम्तिमा हप्ताको एकपटक फेर्ने र पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न स्थानीय प्रशासनले जिल्लाबासीलाई अनुरोध गरेको छ । जिल्लामा लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन भइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न पनि प्रशासनले आग्रह गरेको छ ।


नेपाल कर्म । ३१ श्रावण २०८०, बुधबार १७:३१