छिन्चुको बजार क्षेत्रमा फोरलेन सडक निर्माण गरिँदै

सुर्खेत । छिन्चु बजार कर्णाली प्रदेशको गेटवे अर्थात् मुख्य प्रवेशद्वारा हो । रत्न राजमार्गमा पर्ने छिन्चु पुरानो ब्यापारिक केन्द्रको बजार पनि हो । यहीँ ठाउँबाट सुर्खेतको पूर्वी तथा सल्यान र रकुमपश्चिमको पश्चिम क्षेत्र, जाजरकोट र डोल्पा जाने सडकको शुरुवात विन्दु पनि छिन्चु हो ।




वर्षौंदेखि कोहलपुर–छिन्चु–वीरेन्द्रनगर सडकको रत्न राजमार्गलाई दुई लेन सडक निर्माण गर्ने चर्चा भइरन्छ । तर काम भने हालसम्म भएको छैन् । यो सडकको सवारीको चाप बढेपनि सडक सुधार गर्नमा खासै चासो कसैले दिएका छैनन् । छिन्चु बजारको मुख्य लाइनको सडक नै साँघुरोहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

छिन्चु बजारको सौन्दर्यता कायम गर्ने उदेश्यले डिभिजन सडक कार्यालय सुर्खेत फोरलेन सडक निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । मुख्यगरी तोलिखोलादेखि वीरेन्द्रनगर र जाजरकोट सडक खण्डको विन्दुसम्म फोरलेनको मापदण्डमा सडक निर्माण गर्न ठेक्का आह्वान गरेर काम शुरु गरिएको कार्यालयका सूचना अधिकारी नारायण पौडेलले नेपालकर्मलाई जानकारी दिए ।

‘वीरेन्द्रनगर र डोल्पा प्रवेशको विन्दु पनि यहीँबाट शुरुहुन्छ,’ पौडेलले भने, ‘यहाँको बजारमा पर्ने सडकलाई थप आकर्षक र सुन्दर बनाउन ठेक्का आह्वान गरेर काम थालेका छौं ।’

एक हजार चार सय मिटर लम्बाई रहेको सडकलाई फोरलेन मापदण्डको बनाउन ठेक्का आह्वान गरेर काम शुरु गरिएको कार्यालयले जनाएको छ । ३० महिनामा सकिसक्नु पर्ने यो सडक निर्माणको जिम्मा श्याम एण्ड शंकर अनुशुभी जेभीले पाएको छ । २९ करोड लागत रहेको सडक निर्माणका लागि आवश्यक सामग्रीसहित फिल्ड खटिएको निर्माण व्यवसायीले जनाएको छ ।

यसअघि नै भेरीगंगा नगरपालिकाले सडकको दायाँबायाँमा पर्ने संरचनाहरु हटाउन सूचना जारी गरिसकेको छ । सडक निर्माणमा स्थानीयको अवरोह नरहेकाले निर्धारित समय अगावै काम सकिनेमा आफूहरु विश्वस्त रहेको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल बताउँछन् ।

‘कर्णाली गेटवेको बजारमा फोरलेन सडक निर्माण हुनु सकरात्मक पक्ष हो,’ ढकाल भन्छन्, ‘राष्ट्रिय राजमार्गमा सवारीको चापसँगै सडक साँघुरोहुँदा दुर्घटनाको जोखिम पनि थियो, फोरलेन मापदण्डमा निर्माण भएपछि थप सहयोग हुन्छ ।’ छिन्चु बसपार्क निर्माणकै क्रममा रहेकाले बजार क्षेत्रमा अवस्थित पार्किङ बसपार्कमा राख्ने र बजारको सौन्दर्यता कायम बढ्ने अपेक्षा उनको छ ।

तपाईको प्रतिक्रिया