सुर्खेत । नागरिक उड्ड्यन प्राधिकरण (क्यान) ले पहाडी र हिमाली जिल्लाहरुमा दिउँसो १२ बजेपछि उडान प्रतिवन्ध लगाएपछि कर्णाली पनि प्रभावित बनेको छ । वर्षातमा कर्णालीका हिमाली र पहाडी जिल्लाहरुमा पुग्ने सडक बाटो विग्रिएपछि दैवी प्रकोप प्रभावित, विरामी, स्वास्थ्य सेवा, खाद्यन्न सामग्री ठप्प बनेको छ ।
क्यानको निर्णयले कर्णालीलाई थप पीडा बनाएको भन्दै एमालेले प्रदेश सभा नै अवरुद्ध गरेको छ । तर कर्णाली सरकारले तत्काल क्यानले गरेको निर्णय सच्याउनु पर्ने माग राख्दै हारगुहार गरेको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जहाज नउडाउने निर्णयले कर्णालीका जनताहरुको दैनिक जीवनस्तर थप कठिनाई भएकाले मौसमको प्रतिकुलता हेरेर हवाई उडान नियमित गर्न माग गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन । बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरु बढी समस्यामा परेका छन् ।

एक महिनाकाे अवधिमा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का पाँच महिनाका बालक सन्देश लुवार उपचार अभावमा ज्यान गुमाएको जिल्ला अस्पतालले जनाएकाे छ ।


नेपाल कर्म । ३१ श्रावण २०८०, बुधबार १३:२८